Logo

३२५ बढ्यो कृषि कर्जा



काठमाडौं, बैशाख २ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महीनाको तुलनामा चाल आर्थिक वर्षको ८ महीनासम्ममा उक्त दरमा कृषिकर्जा प्रवाह बढेको हो ।

लामो समय कोभिडका कारण समग्रमा कर्जा प्रवाहसमेत प्रभावित भए पनि अझै अपेक्षा गरेअनुसार कर्जा प्रवाह नभएको बैंकरहरू बताउँछन् । यद्यपि समग्रमा उक्त दरमा कृषिकर्जा विस्तार हुनु भनेको नेपाल राष्ट्र बैंकले तोकेको कुल कर्जा सीमालाई अहिले नै पूरा गर्न सकेको तथ्यांकले देखाउँछ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको उक्त दरले एकमुष्ठ कर्जा बढ्दा ६३ अर्ब ३० करोड थप कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७र७८ को फागुनसम्ममा कृषि क्षेत्रअन्तर्गत २ खर्ब ५५ अर्ब ७९ करोड २० लाख बराबरको कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा प्रवाह १ खर्ब ९२ अर्ब ४८ करोड ६० लाख भएको थियो ।

चालू आवको ८ महीनामा कृषिमा प्रवाह भएको कुल कर्जामध्ये २ खर्ब २४ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूमार्फत भएको छ । यस्तै विकास बैंकमार्फत करीब २५ अर्ब ४८ करोड र वित्त कम्पनीहरूमार्फत ५ अर्ब ८९ करोड रुपैयाँको हाराहारीमा कृषिकर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

कोभिड महामारीको प्रभाव खेपेको समग्र अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाबाट यत्तिको कर्जा प्रवाह वृद्धि हुन गयोे । गत आवको फागुनसम्म्मा नेपालको कोरोना महामारीको प्रभाव देखिएको थिएन । तर, यसपछिको लामो समय समग्र कर्जा प्रवाह अवरुद्ध हुँदाहुँदै पनि यत्तिको वृद्धिलाई बैंकरहरू सकारात्मक ठान्छन् । यसपटक कृषिकर्जाको वृद्धि यसरी बढ्नुको मद्दत पुग्नुका कारण कृषि विकास बैंकले जारी गरेको कृषि ऋणपत्र (बोन्ड) ले पनि हो । बैंकहरूले कृषि बोन्ड किनेर कृषि कर्जाक्षेत्रमा गणनासमेत गर्न सक्ने भएकाले यसले पनि केही मद्दत पुगेको हो ।

कृषि विकास बैंकले चालू आवमा ६ अर्ब रुपैयाँ बराबरको कृषि ऋणपत्र विक्री गरेकोमा १४ ओटा बैंक तथा वित्तीय संस्थाले खरीद गरेको थियो । केन्द्रीय बैंकको नीतिगत व्यवस्थालाई पूरा गर्न यस्तो ऋणपत्र खरीद गर्ने बैंकले जोड्न पाउने भएकाले सहज बनाएको कृषि विकास बैंकका प्रवक्ता हेमलाल पौड्यालको भनाइ छ । उनका अनुसार कृषि बैंकबाट किनेको कृषि बोन्डलाई खरीदकर्ता बैंकले कृषि कर्जामा जोडेर देखाउन पाउँछन् ।

‘तर, अब यसको लगानीको जिम्मा हाम्रो काँधमा आयो । हामीले यसलाई छुट्टै बास्केट फन्ड बनाएर कृषिमा लगानी गर्छौं । बैंकहरूले बोन्डलाई भने आफ्नो कृषिकर्जा शीर्षकमा अहिले नै जोड्न पाउने भएकाले यसलाई जोडेरै कर्जा प्रवाह भएको देखाउन पाउँछन्,’ उनले भने । यद्यपि त्यस बोन्डबाहेक पनि अन्य थप कृषिमा नयाँ कर्जा प्रवाहसमेत भएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्