काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का राष्ट्रियसभा दलका नेता सुमन प्याकुरेलले पार्टीमा बलियो भएको भए बैठकमा आउन माधव कुमार नेपाललाई चूनौति दिएका छन् । उनले माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गर्नुको कुनै अर्थ नहुने जिकिर गरे । उनले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीजतिको राजनेता र एमाले पार्टी जस्तो लोकप्रिय पार्टी अरु कोही पनि नभएको जिकिर गरे ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेता माधव नेपाल त केपी ओलीको रौं बराबर पनि नभएको टिप्पणी गरे । पत्रकार धमलाले माधव कुमार नेपाल आज केपी ओलीभन्दा बढि पपुलर हुनुहुन्न ? भनेर सोधेको प्रश्नमा नेता प्याकुरेलले भने–‘माधव कुमार नेपाल ? केपी ओलीको शरिरको एउटा रौं बराबर हुनुहुन्छ ?’ उनले अर्का नेता झलनाथ खनाललाई त विचाराको संज्ञा दिए । उनले भने,‘उहाँ विचारा हो । उहाँ आउट डेटेड हो ।’ उनले अब माधव नेपाल र झलनाथ खनालको सक्रिय राजनीति गर्ने सम्भावना नरहेको जिकिर गरे ।