काठमाडौं, बैशाख ४ । कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन। बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ। उक्त आनुवांशिक अध्ययनअन्तर्गत नेपालमा संकलित भाइरसका १५ नमुनालाई हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो।
अध्ययनअन्तर्गत एसजिन नेगेटिभ रहेका १० र ५ पिसिआर पोजेटिभ भएकासमेत गरी १५ नमुनाको जेनेटिक सिक्वेन्स तयार गरिएको थियो। एसजिन नेगेटिभ भएका १० नमुनामध्ये ९ मा कोरोना भाइरसको ‘युके भेरियन्ट’ पाइएको थियो भने पिसिआर गरिएकामध्ये एकमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको थियो। नेपालमा भाइरस परीक्षण क्रममा एसजिन नेगेटिभ देखिएमा यसलाई ‘युके भेरियन्ट’ हुनसक्ने मानिएको छ।
नेपालमा महामारीले तीव्र रुप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ। यसका लागि निरन्तर अध्ययन आवश्यक हुन्छ। यसैगरी नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि यो अध्ययन आवश्यक रहेको विज्ञ बताउँछन्।
केही महिनाअघि नेपालमा पहिलोपटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा कोभिड–१९ भाइरसको आनुवांंशिक अध्ययन भएको थियो। उक्त अध्ययन एक निजी प्रयोगशालामा भएको थियो। अध्ययनले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेको र अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखाएको थियो। अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको थियो।
अन्य भाइरस जस्तै कोरोना भाइरसले पनि लगातार रुप परिवर्तन गर्दै आएको छ। संक्रमित मानिसको शरीरभित्र र एक मानिसबाट अर्कोमा सर्दा भाइरसको उत्परिवर्तन (म्युटेसन) निरन्तर भइरहने गर्छ। पछिल्लो समय विश्वका विभिन्न देशमा फैलिएको संक्रमणमा भाइरसका ६ वटा भेरियन्ट बढी कारक रहेको अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले जनाएको छ। नागरिक दैनिकबाट