Logo

विद्यालयहरु बन्द गर्ने कि नगर्ने ? प्याब्सनका अध्यक्ष पुरी र डा. पौडेलबीच सवालजवाफ (भिडिओसहित)



काठमाडौं, ४ बैशाख । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले आजको दिनसम्म अधिकांश विद्यालयमा नै गएर विद्यार्थीहरुले पठनपाठन गरेको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,–‘अहिले अधिकांश विद्यालयहरुमा पठनपाठन भैरहेको छ । सरकारको निर्देशनलाई हामी मान्छौं नै । हामीले निर्देशन उल्लंघन गरेकै छैन् । स्वास्थ्य मन्त्रालयले सबभन्दा पहिले विद्यालयहरु बन्द गर्नुपर्छ भनेर क्याबिनेटमा पठायो, तर क्याबिनेटले भौतिक दूरी कायम गरेर पठनपाठन गर्नुपर्छ भनेको छ । हिजोमात्रै मन्त्रालयले १४ जिल्लामा विद्यालयमा विद्यार्थीहरुलाई नपठाउ भनेर अभिभावकलाई आव्हन गरेको छ ।’ उनले स्वास्थ्य र शिक्षा मन्त्रालयबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर उच्च जोखिम भएका मुख्य मुख्य शहरमा भर्चुअल विधिबाट अध्ययन अध्यापन गराउन भनिएको स्पष्ट पारेका छन् । उनले आफूहरुले सुरुमा विद्यालय बन्द नभनेको पनि जिकिर गरे । अध्ययन तथा अध्यापन रोक्ने वा बन्द गर्ने कुरा नभएको भन्दै यो निरन्तर जारी नै रहने पनि उनको भनाई छ । उनले पछिल्लो समय चार हजार जनाको परीक्षण हुँदा १५ प्रतिशतमा कोरोना संक्रमण देखिएको डेटा सुनाए । उनले काठमाडौं लगायतका मुख्य मुख्य अस्पतालमा आईसियुमा ५० वर्षभन्दा मुनिका उमेर समूहका विरामी देखिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्