सर्लाही, ५ बैशाख । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्ने गरेका हुन् । सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या सिर्जना हुने गर्दछ ।
हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालीञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोलालगायत क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको हो । बढ्दो वन विनाश र अवैध उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका मुहान चाँडो सुक्न थालेका छन् ।
यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई/चार घरलाई मात्र पुग्ने गरेको ईश्वरपुर नगरपालिका–१२, कालीञ्जोरका कान्छा लामाले बताए । “अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ”, उनले सुनाए । चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला/खोल्साको पानी खान्छन् । दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि पखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन् ।
लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरे। “मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ”, रानाले भने । एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।
खानेपानीको अभाव टार्न गत वर्ष लालबन्दी, वाग्मती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीले बताएका छन् । तर नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवम् नयाँ निर्माण गर्ने र ठाउँठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रतिनिधिले बताएका छन् । रासस