Logo

तनहुँसुरसम्म पदयात्रा



तनहुँ, ५ बैशाख । व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा पदयात्रा गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका साथै जैविक विविधतामा रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्यस्थल बन्ने प्रयासमा रहेको तनहुँसुरमा नगरपालिकाको समन्वयमा शनिबार पदयात्रा गरिएको हो ।

पदयात्रामा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायत सर्वसाधारणको सहभागिता थियो । केही समयअगाडि मात्रै सम्भाव्यता अध्ययन गरिएको उक्त पदमार्गको प्रचारप्रसारका लागि पदयात्रा गरिएको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले जानकारी दिए ।

पदयात्रामा पुगेको टोलीलाई स्थानीयवासीले स्वागत गरेका छन् । तनहुँसुर सामुदायिक घरबास र देवस्थल सामुदायिक घरबासका स्थानीयवासीले पदयात्राीलाई स्वागत गरेका हुन् ।

व्यास –११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ । उहाँले छोटो दूरीमा पदयात्रा गर्न चाहनेका लागि यो मार्ग उत्कृष्ट गन्तव्य रहेको बताए । उनका अनुसार ६।५ किलोमिटर दूरीको उक्त पदमार्ग समुन्द्र सतहदेखि ४७० देखि एक हजार २४० मिटर उचाइमा अवस्थित छ ।

“प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रुपमा इको ट्रेक स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेका थियौँ”, उनले भने, “पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीय समुदायको समृद्धिमा सहयोग पु¥याउन पदमार्गले सहयोग पुग्नेछ ।”

पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप, गद्दी, चौतारा, बायस सिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा र छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।

पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करीब चार किमी मोटरयात्रा त्यसपछि चमेरेगुफा–भगवतीपानी मन्दिर–तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुरसम्म गढीसम्म पदयात्रा गर्न सकिनेछ ।

“नेपालकै प्राचीन स्मारकस्थलमध्येको एक तनहुँसुर पुग्नका लागि विभिन्न सडक मार्गहरु छन्, ती सडक निर्माण गर्ने क्रममा दर्जनौँ पर्यटकीय सम्पदाहरु नष्ट भएका छन्”, अध्यक्ष गुरुङले भने, “यसले गर्दा हजारौँको सङ्ख्यामा विभिन्न प्रजातिका वनस्पतिको क्षति भएको छ भने पुराना गामबेँशी गर्ने गोरेटो बाटाहरु लोप हुँदैछन् ।”

प्राकृतिक एवं सांस्कृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण, स्वस्थ शरीर स्वच्छ वातावरण भन्ने मूल मन्त्रका साथ सबै उमेर समूहका लागि छोटो र सहज यस पदयात्राले तनहुँसुरको पर्यटन प्रवद्र्धन तथा समृद्धिका लागि सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।

पदयात्रा सञ्चालनपूर्व विगत केही महिनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अग्र्यानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनलगायत विषयमा प्रशिक्षण दिइँदै आएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्