काठमाडौं, बैशाख ६। लगानी निर्देशिकाभन्दा बाहिर रहेर शेयरबजारमा लगानी गरेको आरोपमा निलम्बन भएका जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई बीमा समितिले स्पष्टीकरण पनि सोध्ने तयारी गरेको छ । समितिले गत शुक्रवार अग्रवाललाई कम्पनीको सञ्चालक सदस्यबाट निलम्बन गरेको थियो । अब, छिट्टै स्पष्टीकरण पनि सोध्ने बीमा समितिको तयारी छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी भएको बताए । ‘नियमनको क्रममा लगानी निर्देशिकाले तोकेको भन्दा बाहिर गएर लगानी गरेपछि केही दिनअघि मात्रा कम्पनी सञ्चालक सदस्य अग्रवाललाई निलम्बन गरेका थियौं । अब छिट्टै यस सम्बन्धमा स्पष्टीकरण पनि सोध्नेछौं,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएमा आवश्यक प्रक्रिया पूरा गरेर पदमुक्त गर्न पनि सकिनेछ ।’ चित्तबुझ्दो जवाफ आएमा यस निर्णयमा पुनर्विचार गर्न सकिने उनको भनाइ छ ।
समितिको स्थलगत निरीक्षणका क्रममा कम्पनीले लगानी निर्देशिका २०७५ भन्दा बाहिर गएर शेयरबजारमा लगानी गरेको देखिएपछि अग्रवाललाई निलम्बन गरेको थियो । अग्रवाल कम्पनीको सञ्चालक सदस्य मात्र नभएर लगानी समितिका संयोजक पनि हुन् । उनकै संलग्नतामा लगानीसम्बन्धी अनियमितताहरू भएको बीमा समितिको भनाइ छ ।
‘कम्पनीमा स्थलगत निरीक्षण गर्दा अग्रवालको संलग्नतामा विभिन्न अनियमितता भएको देखियो । त्यसपछि लगानी समितिको संयोजक भएको नाताले अग्रवाललाई नै निलम्बन गरेका हौंं,’ उनले भने, ‘अब छिट्टै स्पष्टीकरण पनि सोध्नेछौं ।’
समितिले गत चैत २२ र २३ गते कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणको प्रतिवेदनले अग्रवालकै संलग्नतामा लगानीसम्बन्धी अनियमितता भएको समितिले बताएको छ ।
लगानी निर्देशिकाअनुसार बीमा कम्पनीहरूले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म रकम धितोपत्र बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा लगानी गर्न सक्नेछ । तर, जनरल इन्स्योरेन्सले त्यो सीमाभन्दा माथि गएर लगानी गरेको निरीक्षणको क्रममा देखिएको छ । आर्थिक अभियान दैनिकबाट