Logo

कच्चा पदार्थको अभावमा बोरा उद्योगको उत्पादन घट्यो



काठमाडौं, बैशाख ६। विभिन्न मुलुकहरूमा कोरोना महामारीको दोस्रो लहर फैलिँदै गएपछि बोरा उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थको अभाव भोग्नु परिरहेको छ । कच्चा पदार्थको अभावका कारण यति बेला ती उद्योगको उत्पादन क्षमतासमेत घटिरहेको छ ।

नेपालमा प्लास्टिक, जुट र कपडाका बोरा उत्पादन गर्ने दुई दर्जन जति उद्योग छन् । ती उद्योगहरूले खाद्यान्नदेखि सिमेन्ट उद्योगहरूलाई बोरा उपलब्ध गराउने काम गर्दछन् । यति बेला ती सबै उद्योगले कच्चा पदार्थको अभाव बेर्होनु परिरहेको छ जसले गर्दा सबैजसो उद्योगहरूको उत्पादन क्षमतामा करीब ५० प्रतिशतले कमी आएको छ ।

विराटनगरको पशुपति सिल प्याक उद्योगका प्रोपाइटर सुदीप जैसवालले आफ्नो उद्योगमा बोरा उत्पादन गर्न आवश्यक पर्ने पोलिप्रोप्लिन नामक मुख्य कच्चा पदार्थको अभाव रहेकाले २ महीनादेखि बोरा उत्पादनमा समस्या भइरहेको बताए । नेपालमा यस्ता कच्चा पदार्थ साउदी अरब, मलेशिया र भारतलगायत देशहरूबाट आयात हुने गर्छ । ती देशमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएका कारण कच्चा पदार्थ आयातमा समस्या भइरहेको उनी बताउँछन् । ‘पहिलो कुरा त कच्चा पदार्थ नै पाउन समस्या छ पाइहालेमा पनि जहाजको ढिलाइका कारण नेपालमसम्म आइपुग्न महीनौं दिन लाग्ने गर्छ,’ उनले भने ।

कच्चा पदार्थको अभावसँगै आयात प्रक्रिया लम्बिएका कारण बोराको उत्पादन लागतमा वृद्धि हुन गई मूल्यसमेत बढेको छ । गतवर्षको भन्दा यस वर्ष उत्पादन लागत २५ प्रतिशतसम्म बढेको छ ।

यस कारण यसअघि सामान्य अवस्थामा सिमेन्ट राख्ने एउटा बोराको मूल्य भ्याटसहित १३ रुपैयाँ पर्ने गरेकोमा अहिले १९ रुपैयाँसम्म पर्न थालेको उद्योगीहरू बताउँछन् । उत्पादन क्षमतामा कमी आएपछि अहिले यस्ता उद्योगहरूमा काम गर्दै आएका करीब ३० प्रतिशत कामदारहरूले रोजगारी गुमाइसकेका छन् ।
आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्