सिरहा, बैशाख ७ । सिरहा नगरपालिकाका २५ वर्षीय युवक भारतबाट फर्केको तेस्रो दिन बिरामी परे। जीउ दुख्ने, ज्वरो आउने समस्या भएपछि उनी उपचारका लागि जिल्ला अस्पताल सिरहा पुगे। चिकित्सकले लेखिदिएको औषधि लिएर उनी घर फर्के। औषधि खाँदा पनि उनलाई सन्चो भएन। उनी फर्केर सिरहाकै कर्ण क्लिनिकमा जाँच गराए। औषधि लिएर फेरी घर फर्के। यो औषधिले पनि उनी बिसेक भएनन्।
चार दिनअघि फेरि उनी जिल्ला अस्पताल सिरहा पुगे। अस्पतालका प्रमुख डा नागेन्द्र यादवले उनको यात्रा इतिहास खोज्दै गएपछि उनी भारतबाट फर्केको खुल्यो। डा यादवले उनलाई तुरुन्त एचडियु वार्डमा भर्ना गरेर आरटी पिसिआर जाँचका लागि सुझाव दिए। सोमबार उनको आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। अहिले उनको जिल्ला अस्पताल सिरहाकै छुट्टै कोठामा राखेर उपचार हुँदैछ।
डा यादवकाअनुसार हामीसँग कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेसन कक्ष सञ्चालनमा छैन। अब यो बिरामीलाई उपचारका लागि कहाँ पठाउनेबारे छलफल हुँदैछ। संक्रमितको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मीको स्वाव संकलन गरी आरटी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। सोमबार यस प्रदेशमा १३८ नमुना परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पर्सामा सबैभन्दा बढी ४६ जना, बारामा १२ जना, रौतहटमा ७ जना, सर्लाहीमा १ जना, सिरहामा १ र धनुषामा २ जना थपिएका छन्।
जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार सिरहाको माड्र नाकाबाट दैनिक करिब २० जना भारतको संक्रमित सहरबाट भित्रिरहेका छन्। माड्र नाकालाई नेपाल सरकार आउजाउका लागि खुला गरिदिएको छ। यस नाकाबाट भित्रिनेहरूको थर्मल गनबाट तापक्रमण जाँचेर घर पठाउने गरिएको छ। नाकामा होल्डिङ स्टेसन सञ्चालन नभएका कारण भारताट आउने जतिलाई घर पठाउनुको विकल्प छैन।
प्रदेश–२ मा वैशाख ६ गतेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २१४ पुगेको छ भने संक्रमितको संख्या १७ हजार ६ सय १८ पुगेको छ। यीमध्ये दोस्रो लहरमा ५ जनाको मृत्यु भएको छ भने ४६६ जना संक्रमित थपिएका छन्। तर, प्रदेश–२ मा संक्रमितको उपचारका लागि पहिलो आवश्यकता आइसोलेसन पर्याप्त नरहेको आजको नागरिक दैनिकमा खवर छ ।