सर्लाही, ७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदै आएको थियो ।
करिव सात वर्षपछि स्थानीय निकाय, संघीय सरकार तथा समाजसेवीका सहयोगमा भवन निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिए।
उनका अनुसार तत्कालीन नेत्रगञ्ज गाविसबाट रु ५० हजार, लालबन्दी नगरपालिकाबाट रु २० लाख, हरिवन नगरपालिकाबाट रु एक लाख, वाग्मती नगरपालिकाबाट रु दुई लाख ५० हजार, प्रदेश सरकारबाट रु पाँच लाख र केन्द्र सरकारबाट रु नौ लाख प्राप्त भएको थियो । यसैगरी प्याब्सनबाट रु एक लाख ५० हजार र व्यवसायीबाट गरी करिब पाँच लाखगरी कुल रु ४४ लाख ५० हजारको लागतमा सो भवन निर्माण भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङ्गले नयाँ भवनबाट सेवा प्रवाहमा सहज भएको र भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए । रासस