Logo

बुटवलस्थित जीतगढी विजय उत्सवमा कोरोनाको प्रभाव



बुटवल, ७ वैशाख । नेपाल–अङ्ग्रेज युद्धमा नेपालले विजय प्राप्त गरेको ऐतिहासिक दिनको अवसर पारेर आज बुटवलस्थित जितगढी किल्लामा विजय उत्सव मनाइएको छ । विजयोत्सव कार्यक्रम हरेक वर्ष बुटवल उपमहानगरपालिकाको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरेर मनाउने गरिए पनि यस वर्ष भने कोरोना सङ्क्रमण बढ्ने सम्भावनाका कारण सङ्क्षिप्त कार्यक्रम आयोजना गरियो ।

विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई सो गढीमा भएको युद्धमा पराजित गरेको थियो । बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अङ्ग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला मानिन्छ । किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।

बुटवलको जितगढीलगायतका देशका कैयौँ भागमा अङ्ग्रेज फौजले आक्रमण गरेको थियो । जीतगढीमा अङ्ग्रेजलाई हराएको नेपाल अरु किल्लामा भने आफँै हारेको थियो । सम्पदास्थलमा भएको कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरियो । साथै वीर शहीदको सम्झना र सम्मानमा श्रद्धाञ्जलि अर्पण गरियो । कोभिड–१९ को महामारीका कारणले यसपाली सार्वजनिक समारोहको आयोजना नगरिएको उपमहानगरले जनाएको छ । सम्पदास्थल किल्ला परिसरमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा विशेष ध्यान दिइएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्