Logo

गौरिका सिंह ‘एशियाकै ३० सर्वाधिक प्रभावशाली युवा’ को सूचीमा



काठमाडौं, ७ वैशाख । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ ।

फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको छ । उनी १२ वर्षको उमेरदेखि नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छिन् । २०१९ को दक्षिण एशियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जित्न सफल भइन् ।

२०१६ को रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् । उनी २०२० को टोकिया ओलम्पिकमा छनोट भएकी छिन् । यो खेल २०२१ का लागि सरेको छ ।
खेलका अलावा गौरिका सिंह सामाजिक कार्यमा पनि सक्रिय छिन् । उनी माइती नेपाल र शान्ति एजुकेशन इनिटिएटिमको गुडविल एम्बेसेडर पनि हुन् ।

गौरिका नेपालको खेल इतिहासमा एउटै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सबैभन्दा बढी स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनी दक्षिण एशियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने खेलाडीको सूचीमा पनि छिन् । बेलायतमा बस्दै आएकी गौरिका ओलम्पिकको तयारीमा छिन् ।



प्रतिक्रिया दिनुहोस्