काठमाडौं, बैशाख ८। बीमा समितिले बालबालिका बीमासम्बन्धी प्रडक्टहरूमा एकरूपता ल्याउने गरी नयाँ मापदण्ड तोकेको छ । बीमांकीय दृष्टिकोणले बालबालिका बीमाको प्रचलित पोलिसीहरू बीमाको सिद्धान्तविपरीत भएपछि समितिले नयाँ मापदण्ड तोकेको हो । अब अभिभावकले प्रस्तावक भएर आफ्ना सबै बालबालिकाको समान रूपमा बीमा गर्नुपर्नेछ । साथै, सबै बालबालिकाको कुल बीमांक ५० लाख रुपैयाँभन्दा बढी हुन नपाउने नयाँ व्यवस्था गरिएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बालबालिकाको बीमामा नयाँ मापदण्ड तोकिएको बताए । ‘बालबालिकाको आम्दानी नै हुँदैन । यो अवस्थामा उनीहरूको बीमा गर्न सकिँदैन भनेर बीमांकीहरूले टिप्पणी गर्दै आएका थिए । यस मामिलामा उचित निर्णय लिन एक अध्ययन समिति बनाएका थियौं,’ उनले भने, ‘अध्ययन समितिको सिफारिशको आधारमा यस्तो व्यवस्था गरिएको हो ।’
बालबालिकाको औपचारिक आम्दानी हुँदैन । हालसम्म अभिभावकहरू आफै प्रस्तावक बसेर बालबालिकाको बीमा गर्दै आएका छन् । तर, बालबालिकाको आम्दानी नै नभएको अवस्थामा उनीहरूको बीमा गर्न नसकिने भन्दै बीमांकीहरूले विरोध छ ।
त्यसैले समितिले यसमा उचित निर्णय गर्न करिब १ वर्षअघि बीमा विज्ञ भोजराज शर्माको सयोजकत्वमा एक अध्ययन समिति बनाएको थियो । समितिमा जीवन बीमा कम्पनीहरूका तर्फबाट मेट लाइफ, नेपाल लाइफ र एलआईसी इन्स्योरेन्सका एकरएक जना उच्च अधिकारको प्रतिनिधित्व रहेको थियो । सोही अध्ययन समितिको सिफारिशको आधारमा यस्तो निर्णय भएको पौडेलले बताए ।
नयाँ व्यवस्थाअनुसार अब अभिभावकले एउटा बच्चाको बीमा गर्छु र अर्को बच्चाको बीमा गर्दिनँ भन्न पाउँदैनन् । बीमा गर्ने भएपछि सबै बालबालिकाको समान रूपमा नै बीमा गर्नुपर्ने मापदण्ड तोकिएको छ । साथै, उनीहरूको कुल बीमांक पनि ५० लाखभन्दा बढी बनाउन नपाइने बीमा समितिको भनाइ छ ।
‘अब अभिभावकले बीमा गर्ने भए सबै बालबच्चाको समान रूपमा बीमा गर्नुपर्छ । कोहीको गर्ने, कोहीको नगर्ने भन्ने हुँदैन,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘अब कुनै दम्पतीको दुई बालबालिका छन् भने उनीहरूले बढीमा २५र२५ लाखसम्मको बीमा गर्न सक्नेछन् । आर्थिक अभियान दैनिकबाट