Logo

मकवानपुरमा कोरोनाबाट सम्भावित रोकथाम र बचावट



मकवानपुर, ८ बैशाख । कोभिड–१९ को सम्भावित रोकथाम र बचावटका सन्दर्भमा सङ्घीय सरकारले गरेको निर्णयबमोजिम मकवानपुर जिल्लामा पनि सोही बमोजिम पूर्ण पालना गराउन थालिएको छ । मकवानपुर जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सङ्घीय निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । अब मकवानपुर जिल्लामा सिनेमा घर, दोहोरी साँझ, जिम क्लब, आमसभा, जुलुस, स्वीमिङ पुल, रङ्गशालामा दर्शकसहितको खेलकूद तथा भीडभाड हुने कार्यक्रम सबै वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

मेला, महोत्सब, जात्रा, विवाह आदिमा २५ जनासम्म मात्र उपस्थित हुन पाउने तथा विवाह, ब्रतबन्धको लागि पार्टी प्यालेसमा गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको छ । यस्तै सिट क्षमताभन्दा बढी यात्रुु राख्न नपाउने तथा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

यसैबीच हेटौंडा उपमहानगरपालिकाभित्रको सार्वजनिक तथा निजी शैक्षिक संस्थाहरुमा वैशाख मसान्तसम्म भौतिक उपस्थिति नगराउने र अनलाइन तथा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ । मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका बाहेकका अन्य स्थानीय तहले भने जोखिमको मूल्याङ्कन गरेर जनस्वास्थ्यको मापदण्ड पूरा गरेर मात्र पठनपाठन गराउन पाउने भएका छन् । विद्यालय र कलेजको पूर्वनिर्धारित परीक्षा भने तोकिएअनुसार नै हुने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्