काठमाडौ, बैशाख ९ । नेपालले ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने अपेक्षा राखे पनि वास्तविक लगानी भने निकै कम भित्रिएको छ । वैदेशिक लगानी भित्र्याउन लगानी सम्मेलनहरू गरिए पनि साढे २ दशकको अवधिमा नेपालले खुद वैदेशिक लगानी जम्मा एक खर्ब १० अर्ब रुपैयाँमात्रै प्राप्त गरेको छ । यो कुल प्रतिबद्धता तथा स्वीकृृत रकमको जम्मा ३४ दशमलव १ प्रतिशत हो । यो रकम कुल विदेशी लगानीलाभांश तथा शेयर विक्री र कतिपय अवस्थामा लगानीकर्ताले प्रोजेक्ट नै विक्री गरेर फिर्ता लगेको रकम घटाएपछिको हो ।
विभिन्न समयमा गरिएका लगानी सम्मेलनहरूमा विदेशी लगानीकर्ताहरूले खर्बौं लगानी नेपाल भित्र्याउने भनी आशय तथा प्रतिबद्धता व्यक्त गरे पनि अत्यन्त कम लगानी भित्रिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ सर्वेक्षण प्रतिवेदनले विदेशी लगानीकर्ताहरूले स्वीकृत गराएअनुसार लगानी नभित्र्याएको देखाएको छ ।
आर्थिक वर्ष २०५२र५३ देखि २०७६र७७ सम्म नेपालले तीन खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ एफडीआई स्वीकृत गरेको छ । तर, यसमा भित्रिएको लगानीको अंश निकै कम छ । विदेशी लगानीका प्रोजेक्टहरू उद्योग विभाग र लगानी बोर्ड नेपाल (आईबीएन) मा दर्ता हुँदै आएका छन् । दर्ता भएका प्रोजेक्टको स्वीकृत रकम पनि कम नै छ । कतिपय वर्षमा त आएको लगानीभन्दा बढी रकम बाहिरिएको समेत देखिन्छ ।
स्वीकृत वैदेशिक लगानीमध्ये हालसम्म जम्मा ३४ प्रतिशत लगानीमात्र दर्ता गरिएका प्रोजेक्टहरूमा आएको छ । वैदेशिक लगानीका लागि नेपाल उपयुक्त स्थल हो भन्ने भन्ने सन्देश दिन २०७३ चैत र त्यसको २ वर्षमा अर्थात् २०७५ चैतमा सरकारले लगानी सम्मेलन गरेको थियो ।
२०७६ भदौमा निजीक्षेत्रको संगठन नेपाल उद्योग परिसंघ (सीउनआई) को पहलमा ‘नेपाल पूर्वाधार सम्मेलन’ सम्पन्न गरिएको थियो । विदेशी लगानीकर्तालाई आकर्षित गराउन र नेपाल लगानीका लागि सुरक्षित देश हो भन्ने सन्देश दिन गरिएका लगानी सम्मेलन पछिको अवस्थामा पनि लगानी प्राप्तिमा उल्लेख्य सुधार भएको देखिँदैन ।
वैदेशिक लगानी भित्र्याउन नेपाल आतुर छ तर यहाँ प्रक्रियागत तथा नीतिगत झन्झट छ । नाफाको सुनिश्चितता र लगानी सुरक्षाको विषय उत्तिकै पेचिलो बन्दा विदेशी लगानीकर्ता लगानी नै भित्र्याउन भने हिचकिचाइरहेका छन् । वैदेशिक लगानीका परियोजनाहरू दर्ता भई लगानी स्वीकृत भए पनि लगानी भने सोही वर्ष नै सबै भित्रँदैन । अहिले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण (फिट्टा) नियमावली –२०७७ मा पहिलोपटक लगानी सीमा राखी १ देखि २ वर्षभित्रमा स्वीकृत लगानीको शतप्रतिशत रकम दर्ता भएका उद्योग व्यवसायमा ल्याइसक्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । आर्थिक अभियान दैनिकबाट