काठमाडौं, बैशाख ९ । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका छन् । कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’
देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराउनुभएको थियो । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ ।
सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ ।कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेको निष्कर्ष निकालेको हो ।
त्यस्तै, कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।