काठमाडौं, ९ बैशाख । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित धोबीखोला नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गामा आज डोजर चलेको छ । काठमाडौं क्षेत्र नम्बर १ (क ) प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अगुवाईमा पूर्व उपसचिव सुरज डोटेलले हडपेर बनाएको टहरामा डोजर लगाएर अतिक्रमण हटाइएको हो । प्रदेश सभा सदस्य श्रेष्ठ र काठमाडौ महानगरपालिका वडा नम्बर ११ का जनप्रतिनिधिको समन्वयमा डोटेलले हडपेको उक्त जग्गामा भइरहेको अतिक्रमण हटाएर पार्क निर्माण गर्ने तयारी थालिएको छ ।
कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वउपसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको पाइएपछि काठमाडौँ महानगरपालिका–११ कार्यालयले पटक पटक खाली गराउन पत्राचार गरेको थियो । तर डोटेलले खाली नगराएपछि प्रदेशसभा सदस्य श्रेष्ठको अगुवाईमा संरचना हटाइएको हो ।
कामपा ११ का वडाअध्यक्ष हीरालाल तण्डुकारको खुट्टामा समस्या भएपछि वडा सदस्य सरोजकुमार मुल्मी दीपेश राउत , आस्था श्रेष्ठ लगायतको उपस्थिति थियो । प्रदेश सभा सदस्य श्रेष्ठले एक हप्ताभित्र जग्गा खाली गर्न समयसीमा दिएका थिए । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले एक हप्ताभित्र अतिक्रमित सार्वजनिक जग्गा नछोडे आफ्नो नेतृत्वमा डोजर प्रयोग गरेर खाली गराउने बताएका थिए ।
उनले दिएको समयसीमा भित्र टहरा नहटाएपछि डोजर लगाएर हटाएका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध अभियान चलाएर खाली गराउन लागिएको उनले बताए । अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरेको जानकारी गराउन प्रदेशसभा सदस्य श्रेष्ठले स्थानीयवासीमा आह्वान गरेका छन् ।
उनले आफ्नो क्षेत्रभित्र सार्वजनिक जग्गामा भएका अतिक्रमण यसरी नै हटाईने उद्घोष गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ ।