Logo

डिजिटल बैंकिङबाट खर्बौं भुक्तानी



काठमाडौं, बैशाख १० । पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ ।

चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा प्रविधिमार्फत ग्राहकले करीब ३ करोड ३५ लाख ७० हजारपटक कारोबार गरेका छन् । यी कारोबारबाट २१ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बराबरको रकम ट्रान्सफर भएको छ । तत्कालै भुक्तानी गर्न सकिने आरटीजीएस, कनेक्ट आईपीएस, मोबाइल र इन्टरनेट बैंकिङ, वालेट, ई–कमर्श, डेविट तथा क्रेडिट कार्डलगायत उपकरणबाट यी भुक्तानी भएका हुन् ।

दोस्रो लहरको कोभिड फैलिएसँगै समग्र व्यवसायमा चुनौती देखिए पनि डिजिटल बैंकिङ भने थप फस्टाउँदै गएको देखिन्छ । कोभिडको दोस्रो लहरमा डिजिटल बैंकिङ थप विस्तार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ र वालेटमार्फत भुक्तानी गर्ने संख्या अन्य प्रविधिको तुलनामा बढी देखिएको छ । फागुनमा मात्रै मोबाइल बैंकिङबाट १ करोड ८२ हजारपटक कारोबारमा रू। ४० अर्ब ३५ करोड हाराहारीको भुक्तानी भएको छ ।

ई–सेवा, खल्तीलगायतका वालेटबाट १ करोड ६ लाख १४ हजारपटक कारोबार भई १० अर्ब १८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । २ लाखभन्दा बढी भुक्तानी गर्न मिल्ने आरटीजीएस प्रणालीबाट ४८ हजारपटकमा १७ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आईपीएसबाट ९ लाख ७ हजारपटकमा १ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको रकम हस्तान्तरण भएको छ ।

कनेक्ट आईपीएसबाट १६ लाखपटक कारोबार भएको छ । यसबाट यस अवधिमा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । इन्टरनेट बैंकिङ कारोबार २ लाख ६७ पटक भएको छ । यसबाट रू। ८ अर्ब ८८ करोड बराबरको कारोबार भएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्