Logo

सिम्रौनगढमा पुरातात्त्विक सम्पदा प्रचुर



सिम्रौनगढं, वैशाख १०। बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक, पुरातात्त्विक महत्त्वको सिम्रौनगढको भू–भौतिक सर्वेक्षण सम्पन्न भएको र सोको जानकारी महत्त्वपूर्ण भएको जानकारी दिए ।

सिम्रौनगढ र त्यस वरपरको ठाउँमा गरिएको सो सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना देखिएको बताउँदै उनले सो क्षेत्रमा नवपाषाणकालीन (नियोलेथिक) हतियार तथा सरसामान र माटाका भाँडाकुँडा प्राप्त भएको बताए । सर्वेक्षणको क्रममा इँटका टुक्रा, ढुङ्गा र इँँटाको गाह्रो समेत देखिएको थियो ।

उनले भने, ‘‘जीपीआर, प्रविधि र ड्रोन क्यामराबाट सर्वेक्षण गरियो । यस प्रविधिले मानिसको शरीरको एक्सरे गरेजस्तै जमिनको भित्री भागको एक्सरे गर्ने भएकाले जमिनभित्र रहेका वस्तुबारे सहजै थाहा पाउन सकिन्छ ।’’ महानिर्देशक गौतमले केही महिनापछि सर्वेक्षणको विस्तृत प्रतिवेदन पुरातत्व विभागलाई प्राप्त हुने जानकारी दिए । प्रतिवेदन प्राप्त भएपछि उत्खनन गरी प्रामाणिक इतिहास तयार पारिने उनको भनाई छ ।

सर्वेक्षणको क्रममा प्राप्त गरिएका नमुनाको थप अनुसन्धान (प्रोसेसिङ)का लागि बेलायत पठाइएको छ । अहिलेको सर्वेक्षणले प्राचीन र मध्यकालीन इतिहास बोकेको सिम्रौनगढको सम्पूर्ण क्षेत्र के कस्तो अवस्था छ? यहाँका संरचनाहरू कस्ता छन् लगायतका विषयमा जानकारी प्राप्त हुने उनले बताए ।

पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले संयुक्त रूपमा सिम्रौनगढको सर्वेक्षण गरेको हो । सर्वेक्षणमा बेलायतको दुरहाम विश्वविद्यालयको पुरातत्व विभागका वरिष्ठ पुरातात्त्विद डङ्कन हालेसहितको आठ सदस्यीय टोली नेपाल आएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्