Logo

सक्रिय सङ्क्रमित १२ हजारभन्दा बढी



काठमाडौं, वैशाख १० । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४२८ जना व्यक्ति सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नै १२ हजारभन्दा बढी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार एक जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार ३६५ जना र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै बिहीबार थप पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २५२ जना सङ्क्रमित निको भएका छन् । त्यसैगरी राजधानीभित्रका जिल्ला काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना गरी एक हजार १७४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ६९० पुगेको छ भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् । त्यसैगरी देशभरका विभिन्न अस्पतालका आईसीयूमा १७० र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११७ पुगेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्