कर्णाली, १० वैशाख । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ, मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन तर कथा अर्कै छ ।
वीरेन्द्रनगर र बराहतालबासीको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था निकै फरक छ । उक्त गाउँपालिकाको वडा नं ६ इखेनी गाउँको कथा अझ बढी कारुणिक छ । त्यसमा बालबालिकाको जीवन कथा झनै पीडादायक छ । वीरेन्द्रनगरमा चिल्ला सडक, कङ्क्रिट र सिमेन्टले बनेका पक्की घर, शैक्षिक तथा आर्थिक रुपले सम्पन्न नागरिक जीवनशैली भए पनि त्यसैसँग जोडिएको इखेनी गाउँ आज पनि बत्तीमुनिको अँध्यारो जस्तै छ ।
खरकै छाना भएका माटाका घर छन् । त्यहाँका नागरिकले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमिमा अपमानित भएर मजदूरी गर्नुपर्ने विवशताबाट मुक्ति पाउन सकेका छैनन् । तत्कालीन नेकपा ९माओवादी०ले सशस्त्र युद्धका बेला विसं २०६० मा इखेनीमा दलित बस्ती बसालेको थियो । हाल ९३ घरधुरी रहेको त्यहाँका नागरिकले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमि जानुपर्ने बाध्यता छ । गाउँमा सुनार, परियार, वादीलगायत दलित जातिका हातमा जग्गाधनी पूर्जा छैन । गाउँमा प्रायः अभिभावक बस्दैनन् । उनीहरु एकसरो कपडा फेर्न र केही कमाउन वर्षेनी कालापहाड धाउने गर्छन् ।
सन्तानका बाआमा नै कामका लागि कालपहाड नै जाने गरेको इखेनी जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पा रानाले राससलाई जानकारी दिए । “उनीहरु नियमित घर बस्दैनन् । बाबाआमा नै घरमा नबस्ने स्थितिले बालबालिकाको जीवन बढी सकसपूर्ण छ”, रानाले भने, “अभिभावकविहीन बालबालिकालाई पढ्न र पढाउन कठिन छ । पोशाकका कुरै छाडौँ, कापी कलम नै नभएपछि उनीहरु स्कूल जाऊन् पनि कसरी ? यसले हामी शिक्षण गर्नेलाई पनि गाह्रो भएको छ । कति अभिभावक बालबालिका नै लिएर कालापहाड जान्छन् । नियमित पढ्न नपाउँदा मावि तहमा पुग्न नपाउँदै उनीहरुले पढाइ छाड्छन् ।”
उनका अनुसार धेरै बालबालिका अभिभावकविहीन् छन् । मजदूरीका लागि कालापहाड जानैपर्ने बाध्यताले धेरैले लामो समय उतै बिताउँछन् भने कतिले त्यहीँ अकालमै ज्यान गुमाउँछन् । यो समस्या आजका दिनसम्म ज्यूँका त्यूँ रहेको र उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा कुनै फेरबदल नआएको रानाको भनाइ छ । रासस