Logo

स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन गर्न २०० रुपैयाँ



महाकाली, १२ बैशाख । महाकाली नगरपालिकाले हरेक विद्यालयमा स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री व्यवस्थापनको लागि नगर क्षेत्रभित्रका विद्यालयमा बजेट निकासा गरेको छ । नगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनका लागि प्रतिविद्यार्थी २०० रुपैयाँका दरले बजेट निकासा गरेको जनाएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशनसमेत दिएको छ । शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने व्यवस्थापन गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा विजय भुर्तेलद्वारा जारी सूचनामा विद्यालयमा विद्यार्थीको तापक्रम नाप्ने, कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने नियमलाई पूर्ण पालना गर्न भनिएको छ ।

यस्तै शिक्षण संस्थामा सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नसमेत नगरपालिकाले पुनः निर्देशन दिएको छ । विद्यालयले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गरी सञ्चालन गर्नुपर्ने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को पूर्णरूपमा कार्यान्वयन गर्न पनि भनिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्