काठमाडौं, १२ वैशाख । कर्णाली प्रदेशको नेकपा एमालेभित्रको फ्लोर क्रसले राष्ट्रिय राजनीति तरंगित पारिरहँदा अन्य प्रदेशहरुमा पनि त्यस्तै संकेतहरु देखिनथालेको छ । गण्डकी, लुम्बिनी, बागमती प्रदेश मात्र नभई प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार धरापमा परेको छ । केन्द्र सरकार पनि कुनैपनि बेला अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने सूचनाका आधारमा रणनीतिक तयारीमा छ ।
बालुवाटारमा प्रदेश र संघीय संसादमा फ्लोर क्रस गर्नसक्ने माधव नेपाल समूहका सांसदहरुको सूची पुगेको छ । अब उनीहरुलाई छानी छानी कारबाही गर्ने या अर्को कुनै कठोर कदम चाल्नेबारे छलफल चल्न थालेको छ ।
गण्डकी प्रदेशमा १३ वैशाखमा विशेष अधिवेशन डाकिएको छ । अब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले अविश्वासको प्रस्तावको सामना गर्नुपर्नेछ । गुरुङ्गविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा वा जनता समाजवादी पार्टी एक भएमा अविश्वासको प्रस्ताव पारित हुनेछ । गुरुङ्ग अविश्वासको प्रस्ताव असफल बनाउन सक्रिय भइसकेका छन् ।
काँग्रेस र माओवादी केन्द्रमात्र अविश्वासको प्रस्तावको पक्षमा आएमा गुरुङ्गविरुद्ध फ्लोर क्रसको सम्भावना उत्तिकै छ । कर्णालीमा भएजस्तै फ्लोर क्रसको सम्भावनालाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि औल्याएका छन् । उनले आज एमाले बैठकपछि बोल्दै फ्लोर क्रस हुनसक्ने सूचनाहरुबारे चासो लिइरहेको बताए ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावको सामना गर्नुपर्नेछ । उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जसपा सांसद नै मन्त्री बनाइएका छन् । अब निर्णयार्थ अविश्वासको प्रस्ताव प्रस्तुत भई मतदान गर्दा फ्लोर क्रसको सम्भावना उत्तिकै छ । एमालेभित्र पोखरेललाई धक्का दिन माधव नेपाल समूह सक्रिय भइरहेको छ । यसकारण पनि फ्लोर क्रसको सम्भावना छ ।
बागमती प्रदेशमा पनि कुनैपनि बेला अविश्वासको प्रस्ताव आउने गरी तयारी भएको छ । काँग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छन् । अविश्वासको प्रस्ताव आएमा त्यहाँ पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध फ्लोर क्रसको सम्भावना छ । बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत छ ।
प्रदेश १ मा पनि एमालेको स्पष्ट बहुमत छ । तर, मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावका लागि माधव नेपाल समूहले अन्य दललाई प्रोत्साहित गरिरहेका छन् । यसकारण पनि त्यहाँ अविश्वासको प्रस्ताव आउन सक्छ । त्यस्तो प्रस्ताव आएमा फ्लोर क्रसको सम्भावना छ ।
केन्द्र सरकारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदैछ । सम्भवत केही दिनमै विशेष अधिवेशनको समावेदनसहित अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ । काँग्रेस र जसपाले मिलेर समावेदनसहित अविश्वासको प्रस्ताव दर्ता गरेमा माओवादी केन्द्र पनि पक्षमा आउने निश्चित नै छ । त्यतिबेला जसपाको सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान नगरे फ्लोर क्रस हुनसक्छ ।
फ्लोर क्रसलाई दृष्टिगत गरी ओलीले विरोधी सांसदहरुलाई कारबाहीका लागि तयारी गरेका छन् । उनले आजै कारबाहीको निर्णय लिन खोजेका थिए । तर, केही निकटस्थहरुको सुझावका आधारमा कारबाही स्थगित गरेका छन् । माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसालसहित सांसदहरुलाई ओलीले कारबाही गर्न खोजेका छन् ।
फ्लोर क्रसको सम्भावनाहरुबारे बालुवाटारमा रिपोर्टिङहरु भइरहेका छन् । विश्वस्त स्रोतका अनुसार फ्लोर क्रसका सम्भावित धेरैलाई कारबाही गर्नुपर्ने हुनसक्छ । त्यस्तो कारबाही प्रदेश सांसदहरुलाई पनि गर्नुपर्ने हुनसक्छ ।
संविधान अनुसार पार्टी परित्याग, राजीनामा, फौजदारी अभियोग या मृत्युबोहकको अवस्थामा सांसद पदमुक्त हुन ह्वीप उल्लंघन गरेको हुनुपर्छ । ह्वीप उल्लंघन नगरेका सांसदहरुलाई त्यत्तिकै कारबाही गर्न खोज्दा अदालत फेरि बाधक बन्न सक्छ । त्यही बुझेर ओली कारबाहीको कदमबाट रोकिएका छन् ।