काठमाडौं, बैशाख १३ । त्रिशूली नदीमा मोटरेबल पुल बनाउने क्रममा भत्किएको संरचना मर्मत गर्दा एक मजदुरको मृत्यु भएको छ। दुईजना नदीमा खसेर बेपत्ता भएका छन्। चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्किएको थियो। भत्केको पुलको संरचना मर्मत गर्ने क्रममा आइतबार फलामे ट्रससँगै नदीमा खसेका भारतीय नागरिक विजय यादवको मृत्यु भएको हो। ४३ वर्षीय यादवसँगै भारतीय नागरिक सुजित माझी र श्यामबाबु पाठक पनि नदीमा खसेका थिए। माझी र पाठक आइतबार बेलुकासम्म बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले फलामको संरचना एक्कासि भत्किँदा यादवको मृत्यु भएको र दुईजना बेपत्ता भएको जानकारी दिए। ‘भत्किएको पुलको फलामको लठ्ठा एक्कासि नदीमा खस्दा साइटमा कार्यरत मजदुर हताहत भएका हुन्,’ उनले भने, ‘दुर्घटनामा परेर एकको ज्यान भएको छ, दुईजना बेपत्ता छन्।’ उनले बेपत्ता भएका मजदुरको गोताखोर प्रयोग गरी खोजीकार्य जारी रहेको बताए।
अधिकारीका अनुसार मृत्यु हुने र बेपत्ता हुनेहरू भारतको बेतिया जिल्लाका हुन्। दुर्घटनामा परेर आठ कामदार घाइते भएका छन्। घाइतेहरूको चितवनमा उपचार भइरहेको छ।