काठमाडौं, बैशाख १३ । मुलुकभर कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको छ। नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ। पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी बाँकेका ६ जना छन्।
कोरोनाको दोस्रो लहर सुरु भएयता आइतबार मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो। यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो। शनिबार १४ जनाको निधन भएको थियो।
मुलुकभर आइतबार संक्रमित भने ३ हजार १ सय २२ जना थपिएका छन्। ९ हजार २ सय ९२ पीसीआर र ७ सय ६ एन्टिजेन गरी १० हजार ७८ जनाको परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी १ हजार ४ सय ९८ जना संक्रमित छन्। मुलुकभर २ सय ५२ जना सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका छन्। जसमध्ये ६५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। मुलुकभर ६९ जना क्वारेन्टाइनमा छन्।
प्रवक्ता डा। गौतमले पछिल्लो २४ घण्टा (आइतबार)मा ४ सय ५० जना डिस्चार्ज भएको बताए। हालसम्म कोरोनाबाट मुक्त हुने दर ९२.५ प्रतिशत छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट