काठमाडौं, बैशाख १४ । नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल–भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् । नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स र भारतको एयर इन्डियाले पनि उडान बन्द गर्ने विषयमा विचार गर्न शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएका अन्य कम्पनीहरूले कोरोना संक्रमण बढ्ने सम्भावना देखिन थालेसँगै उडान संख्या घटाउने वा बन्द गर्ने विषयमा चासो राख्न थालेको ती अधिकारीले बताए । आइतवार मात्रै जम्मा २० ओटा अन्तरराष्ट्रिय उडान भएको र २३ सय यात्रु बाहिरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
आइतवार मात्रै नेपालबाट ५० जना नेपाल भारत गएको र भारतबाट ६३ जना यात्रु नेपाल आएका थिए । कार्यालयका अनुसार आइतवार नेपालमा भारतसहित अन्य मुलुकबाट २ हजार मानिस आए । शनिवार भने २२ ओटा उडान भएका थिए ।
अहिले नेपालमा अन्तरराष्ट्रिय उडान नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससहित एयर इन्डिया, अल जजिरा एयरवेज, एयर अरेबिया, कतार एयरलाइन्स, एयर चाइना, टर्किस एयरलाइन्स, सिल्क, फ्लाइ दुबईले उडान गर्दै आएका छन् ।
गतवर्षको बन्दाबन्दीदेखि थाइ एयरलाइन्सले उडान बन्द गरेको थियो । भारतमा कोरोना भाइरसको संक्रमण भयावह बनेसँगै नेपाल–भारत उडानमा निकै कमी आएको छ । नेपाल–भारत उडान नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै गर्दै आएका छन् । नेपालमा क्वारेन्टाइनमा बस्ने गरी केही साता अघि भारतीयहरू आउने गरेका थिए ।
नेपाललाई ट्रान्जिट बनाएर खाडी मुलुक जाने भारतीयहरू आउँदा होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार आएको थियो । केही साताअघि मात्रै दैनिक ५०० भारतीयहरू नेपाल आउने गरेको भए पनि आइतवारसम्म आइपुग्दा यो संख्या निकै घटेको छ ।
नेपालमा त्यसरी आउनेलाई सरकारले आइतवारदेखि नै आउन रोक लगाए पनि सोमवार भने यो निर्णयलाई उल्टाएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ को पीसीआर परीक्षण सशुल्क गराइदिन सबै प्रयोगशालाहरूलाई आग्रह गरेको छ । नेपाललाई ट्रान्जिट बनाई अन्यत्र जाने नेपालीबाहेकको हकमा यहाँ क्वारेन्टाइन बसेको र एयर बबल सुविधाअनुसार नेपाल आउनेलाई पीसीआर परीक्षण गराउन मन्त्रालय सूचना जारी गरेको हो ।
गतवर्षदेखि नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएको थाइ एयरलाइन्सले आफ्नै आन्तरिक कारणले उडान बन्द गरेको थियो । उसले विमानस्थलमा रहेको बिजनेश पनि बन्द गरिसकेको छ । अहिलेसम्म कुनै पनि कम्पनीले नेपालमा उडान बन्द गर्छौं भनेर औपचारिक जानकारी नदिए पनि इन्डियन जहाजले बन्द गर्ने सम्भावना भने देखिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । आर्थिक अभियान दैनिकबाट