भकुण्डेबशी, १४ बैशाख । भकुण्डेवेंशी फाँटलाई सिँचित गर्ने उद्देश्यले यहाँका खोलालाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएको छ । काभ्रेपको नमोबुद्ध नगरपालिका क्षेत्रको सोती खोलालाई व्यवस्थित गरेपछि भकुण्डे फाँटका हजारौँ रोपनी जग्गा फेरी सिँचाइ सुविधासहित हराभरा हुने आशा गरिएको छ ।
नगरपालिकाले सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत सो खोलाको व्यवस्थापन गर्न अगाडि बढाएको हो । सो काम अगाडि बढेसँगै सोतीले रुप फेर्दैछ । सो कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा नमोबुद्ध नगरपालिका–२ मा झण्डै आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणको काम सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको जलवायु नमूना कार्यक्रम अन्तर्गत आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणका लागि दायाँवायाँ पर्खाल लगाउने काम सकिएको छ । सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत यसवर्ष रु ९९ लाख ६८ हजार र रु १५ लाख २९ हजार जनश्रमदानबाट र बाँकी नेपाल जलवायु अनुकुलन कार्यक्रममार्फत खर्च गरी सो कार्य सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । नमोबुद्ध नगरपालिकाका इञ्जिनियर उज्ज्वल अर्यालले सहायक खोलासहित सोती खोला व्यवस्थापनका लागि कूल रु ४५ करोड ६८ लाख खर्च हुने अनुमानसहितको डिपिआर तयार भइसकेको बताए ।
खोलाको दुबैतर्फ कोरिडोरसमेत निर्माण हुनेछ । नमोबुद्ध–२, ३, ४ र ७ अन्तर्गत ४.३०५ किमी लम्बाइँमा सोती खोलाको मुहानदेखि दाप्चा खोलासम्म सो काम सम्पन्न हुनेछ । कुनैबेला आफूले सिँचाइका लागि सोती खोलाको पानी उपभोग गर्ने गरेको स्मरण गर्नुहुँदै नगरप्रमुख प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उक्त खोला पहिलेकै अवस्थामा ल्याउनको लागि पानीको व्यवस्थापन गर्न र वातावरण संरक्षणका लागि कृषि क्षेत्रको प्रवद्र्धनका गर्न व्यवस्थापन अगाडि बडाएको बताए । हिउँदमा पनि पानीको अभाव नभएको अवस्थाबाट अहिले सिँचाइको अभावका कारण वर्षायामसमेतमा खेती गर्न समस्या भएकोले सो आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए। अहिले खोलाको मूलसमेत सुकेको र पानीको आधार नभएकाले भकुण्डे क्षेत्र सुख्खाग्रस्त रहेको भन्दै शर्माले केही वर्षपछि भकुण्डेमा सिँचाइको अभाव नहुने गरी कार्यक्रमलाई अघि बढाइएको उनको भनाइ छ । रासस