बाग्लुङ, १४ बैशाख । बजारमा सावारी साधनको चाप छ । यो क्रम पछिल्ला दिनहरुमा घटेको देखिँदैन । बजारमा मान्छेको भीड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु र उपभोक्तालाई हेर्दा उनीहरुमा महामारीको डर देखिँदैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको थोरै मात्र देखिन्छ । अहिले पनि यहाँको दैनिकी निकै व्यस्त र सामान्य जस्तै नै देखिन्छ ।
बागलुङ बजार मात्रै होइन यहाँका स्थानीय बजार र गाउँहरुमा जमघट, भेटघाटहरु घटेका छैनन् । झ्याम झ्याम बाजा बजाएर सय जनाभन्दा बढीको सङ्ख्या जन्ती देखिन्छन् विवाहमा । बजार र गाउँ गर्दै विवाहका लगन छोप्नेहरुको तछाडमछाड पनि छँदैछ । नेपाल सरकार र स्थानीय प्रशासनले भीड नगर्न, स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका भए पनि ती आग्रहहरु सार्वजनिक सूचनामा मात्र सीमित देखिन्छन् ।
कोरोनाको दोस्रो लहर ‘युके भेरिएन्ट’ तीव्र गतिमा फैलिएका समाचारहरु देशका विभिन्न जिल्लाबाट आउन थालेका छन् । पछिल्लो समयको अवस्था हेर्दा यो पछिल्लो भेरिएन्टको शिकार बालबालिका भइरहेका छन् । अहिले देशमा कोरोना भाइरसको दोस्रो लहर आनएको भनिएको छ र यसमा नयाँ प्रजाति ‘युके भेरियन्ट’ फैलिने क्रम अहिले तीव्र छ ।
पछिल्लो समय गण्डकी प्रदेशका बालबालिकामा कोरोना सङ्क्रमण फैलिइरहेको सुनिएको छ । युके भेरियन्ट बालबालिका उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्मा बताउछन् । ‘‘पहिले बिरामी, वृद्धवृद्धा बढी जोखिममा थिए तर अहिले सबैभन्दा मारमा बालबालिका छन् । त्यसमध्ये पनि ११ वर्ष मुनिका बालबालिका बढी जोखिममा छन्,’’ उनले भने
गण्डकीमा सोमबारसम्म १७४ जनामा युके भेरियन्ट पुष्टि भएको छ । त्यसमध्ये १०४ जना बालबालिका नै रहेको डा शर्मा बताउनुहुन्छ । युके भेरियन्ट लक्षणसहितको कोरोना ग्राफ फैलिइरहेको अवस्थामा पहिलो चरणको कोरोना फैलँदा कोरोनाको ‘हटस्पट’ का रुपमा चर्चा पाएको बागलुङ दोस्रो लहरमा पनि अलग रहन सकेको छैन । पछिल्लो समय बागलुङमा कोरोनाका १४८ जना सक्रिय सङ्क्रमित छन्, तर अस्पतालमा भने दुई चार जना मात्रै छन् । सङ्क्रमित देखिएका क्षेत्रहरुमा आवश्यक सतर्कता अपनाइएको छैन ।
अधिकांश सङ्क्रमितहरु घरघरमै बसेका छन् । होम आइसोलेशनमा बसेकाले नियम तथा मापदण्ड पूरा गरेका छन् वा छैनन् त्यो शंकास्पद छ । उनीहरुले सामान्य मापदण्ड पूरा नगरेको खण्डमा बागलुङ कोरोनाको हटस्पट बन्न सक्ने खतरा झन् बढेको छ । तीन महिनासम्म झण्डै शून्य सङ्क्रमित बनेको बागलुङको समुदाय र विद्यालय तहमा सङ्क्रमण देखिएपछि आइतबारबाट विद्यालय बन्द भएका छन् । यस अघिको दुई साताको लापरवाहीले सङ्क्रमणको दर बढेको हो । विदेशबाट आएकादेखि सङ्क्रमित भएकाले गर्ने लापरवाही नै यसपटकको समस्याको कारण भएको स्वास्थ्यकर्मीले बताए । रासस