Logo

सङ्क्रमण नियन्त्रणमा सरकारी पहलकदमीः व्यक्तिको भूमिका उल्लेख्य



काठमाडौँ, १४ वैशाख । सरकारले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणको तयारीमा जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचारका लागि आवश्यक सामग्रीदेखि जनशक्ति परिचालन गर्न थालेको छ ।

सङ्क्रमण रोकथाम र नियन्त्रणकै क्रममा मन्त्रालयले मुलुकभर ८५० शय्याका हाई डिपेन्डेन्सी युनिट (एचडियु) निर्माण अन्तिम चरणमा पु¥याएको छ । तीमध्ये १७५ शय्या सञ्चालनमा आइसकेको तथा ६७५ शय्या बन्ने क्रममा छन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले २३ अस्पतालमा एक हजार एचडियु निर्माण अघि बढाए पनि अहिले ८५० वटा निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार निजामती अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा ५० शय्या तथा कान्ति बाल अस्पताल, गङ्गालाल हृदय केन्द्र र चापागाउँ अस्पतालका २५ शय्याका एचडियु पूर्ण रुपमा सञ्चालनमा आइसकेका छन् । पाटन र वीर अस्पतालले सय–सय शय्याका एचडियु, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल, दहचोक अस्पताल र आर्मी अस्पतालका ५०÷५० शय्या क्षमताका केही एचडियु बनिसकेको र केही बन्ने प्रक्रियामा छन् । यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको २५ शय्या पनि बन्ने प्रक्रियामा छ । ती अस्पतालले आफँ निर्माण गरेपछि मन्त्रालयले रकम उपलब्ध गराउने छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल, नेपाल मेडिकल कलेज, किष्ट मेडिकल कलेज, पाटन मानसिक अस्पताल र भक्तपुर अस्पतालले अझै एचडियु बनाएका छैनन् । सरकारले ती एचडियु बनाउन एक युनिट बराबर रु तीन करोड १२ लाख ७० हजार विनियोजन गरेको छ । एक युनिटमा २५ शय्या हुन्छ ।
सहप्रवक्ता डा अधिकारीले जटिल खालका सङ्क्रमितको एचडियुमा उपचार गरिने जानकारी दिए । मन्त्रालयले एचडियु बनाइसकेपछि सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउने छ । डा अधिकारीका अनुसार सरकारले सङ्क्रमण नियन्त्रणका लागि थप नयाँ चार हजार २१ शय्या, ३३८ सघन उपचार कक्ष(आइसियु) र १९२ भेन्टिलेटर बनाएको छ । अहिले १८ हजार ९१७ शय्या, एक हजार ४८६ आइसियु र ६३४ भेन्टिलेटर छन् । रासस



प्रतिक्रिया दिनुहोस्