Logo

उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन निजीक्षेत्रको आग्रह



दमक, बैशाख १५। कोरोना भाइरस संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेसँगै निजी तथा औद्योगिक क्षेत्र चिन्तित भएका छन् । निषेधाज्ञाका कारण उद्योग सञ्चालन, उत्पादन तथा आपूर्ति व्यवस्था प्रभावित हुनेभएपछि निजीक्षेत्र यसबाट त्रस्त भएको हो ।

काठमाडौं उपत्यकामा बिहीवारदेखि ७ दिनका लागि निषेधाज्ञा लगाउने घोषणा गरिएको छ । उपत्यका बाहिरका केही जिल्लाहरूमा पनि निषेधाज्ञा घोषणा गरिसकेको अवस्था छ । यस असहज परिस्थितिप्रति निजीक्षेत्र अत्यन्त चिन्तित र संवेदनशील भएको व्यवसायीहरू बताउँछन् । यसले विस्तारै सुध्रन थालेको समग्र अर्थतन्त्रलाई पुनः प्रभावित पार्ने देखिएको उनीहरूको भनाइ छ ।

कोरोनाको पहिलो लहर हुँदा सरकारले १ वर्षअघि देशभर नै बन्दाबन्दी लगाएको थियो । झन्डै ४ महीनासम्म रहेको पूर्ण बन्दाबन्दी र पटकपटकको निषेधाज्ञाले औद्योगिक क्षेत्र तथा समग्र अर्थतन्त्र नै नराम्ररी प्रभावित भएको थियो ।

बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा अर्थतन्त्र १ दशमलव ९९ र चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ दशमलव ६ प्रतिशतले ऋणात्मक देखियो । बन्दाबन्दी हटाएपछि र कोरोना विपद् सामान्य हुँदै गएपछि चालू आवको दोस्रो त्रैमासदेखि अर्थतन्त्र चलायमान हुन थालेको थियो । तर, अहिले कोरोना संक्रमण बढ्दै जाँदा र निषेधाज्ञा पनि जारी गर्दा अर्थतन्त्र पुनः प्रभावित हुने निजीक्षेत्रको भनाइ छ ।

यस अवस्थामा सरकार, निजीक्षेत्रसहित र आम जनता प्रमुख दायित्व कोरोना संक्रमणलाई फैलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनुतर्फ जोड दिनुपर्ने उद्योगीहरू बताउँछन् ।

सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञालाई पहिलो र एक मात्रामा हतियार बनाएको निजीक्षेत्रका व्यवसायीहरूले असन्तुष्ट व्यक्त गरेका छन् । कोरोना नियन्त्रणका लागि अन्य उपायहरू पनि थिए, तर सरकारले अन्तिम विकल्पमा रहेको निषेधाज्ञा तथा बन्दाबन्दीलाई नै पहिलो विकल्पमा प्रयोग गरेको व्यवसायीहरूको आरोप छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्