काठमाडौं, बैशाख १५ । दुई सातामा कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको थियो । उक्त संख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।
दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त संख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् ।
हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ संक्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय संक्रमित रहेकामा हाल उक्त संख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले बताएको छ । आर्थिक अभियान दैनिकबाट