Logo

मेचीनगरका वडाका बस्तीमा सडक, विद्युत् र खानेपानी



झापा, १५ वैशाख । राज्यको पुनः संरचनाले स्थानीय तहको सरकारलाई सिंहदरबार झैँ शक्तिशाली बनाएको छ । पालिकाहरुबाट छुट्टै बजेटसमेत प्राप्त गर्दै आएको तल्लो तह वडाले विकास निर्माणको नेतृत्व गरेर गाउँमा सिंहदरबारको अनुभूति गराउन थालेका छन् । झापास्थित मेचीनगर नगरपालिका–५ मा यसै वर्षदेखि विभिन्न बस्तीमा सडक, विद्युत् र खानेपानीको सुविधा पुगेको छ । नगर क्षेत्र भए पनि सो वडामा विकट भौगोलिक अवस्थाका कारण भौतिक पूर्वाधारको विकास निर्माणमा पछाडि पर्दै आएको थियो । तर जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि चार वर्षयता विकासका गतिविधिले तीव्रता पाएको हो ।

वडाध्यक्ष योेगेन्द्र थापाले दर्जनौँ खोल्साखोल्सी र खोला भएका कारण सडक निर्माण आवश्यक तर चुनौतीपूर्ण भएको बताए । वडाभित्र रहेको कूल ३३ किलोमिटर सडकमध्ये चार वर्षमा ३० किलोमिटर सडक ग्राभेल गरिएको उनले जानकारी दिए । “मेचीनगरको विकट भूगोल र दर्जनौँ खोल्साखोल्सीका कारण सडक निर्माण आवश्यक तर चुनौतीपूर्ण थियो”, वडाध्यक्ष थापाले भने, “जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि हामीले सडक सञ्जाल विस्तार, खानेपानीको सुविधा र विद्युतीकरणमा प्राथमिकता दिएका छौँ ।”

वडामा तीन किलोमिटर सडक कालोपत्र भएको छ । ग्राभेल भइसकेका सडकमा यस वर्षदेखि धमाधम कालोपत्र गरिने उनको भनाइ छ । वडाले ठूलो बजेट पुलपुलेसामै खर्चनु परेको छ । गत आर्थिक वर्ष अँधेरी खोला, घैलाडुब्बा खोला, अम्लिसे र आङ्देम्बे खोल्सीमा पक्की पुल निर्माण भएको छ । सडक निर्माण क्रममा विभिन्न क्षेत्रमा नौवटा कल्भर्टसमेत निर्माण भएका छन् ।

वडाले आफ्नै बजेटबाट कालोपत्र सडक निर्माण शुरु गरेको हो । सुरेन्द्रनगर मार्गको पीपल डाँडादेखि दोकान डाँडासम्मको तीन किमी सडकमा कालोपत्र निर्माण गर्न वडाकै बजेट खर्चिएको वडाध्यक्ष थापाले बताए । वडाका सबै मुख्य सडक कालोपत्र गर्ने वडाको योजना छ ।

सो वडाका यसै वर्षदेखि सबै टोलमा बिजुली बत्ती उपलब्ध गराइसकिएको वडाका सचिव येशु लिम्बूले बताए । बिजुली बत्तीको पहुँच नपुगेका क्षेत्रमा वडावासीलाई सोलार बत्ती वितरण गरिएकोे वडाका सचिव लिम्बूले जानकारी दिए ।

केही वर्ष अघिसम्म खानेपानीको सङ्कट व्यहोर्दै आएका वडावासीले जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि समस्याबाट मुक्ति पाएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सेवा विस्तार गरी वडावासी सबैको घरमा शुद्ध खानेपानी वितरण गरिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्