काठमाडौं, १६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे र विजयकुमार यादव पदमुक्त भएको सूचना प्रकाशित गरेको छ । यी चार सांसदमध्ये पाण्डेय र यादव प्रत्यक्ष निर्वाचित सांसद हुन भने रायमाझी र कल्पना पाण्डे समानूपातिक सांसद हुन् ।
पार्टीको निर्देशनविपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्द्यै उनीहरुलाई कारबाहीको सिफारिश गरिएको थियो । सोही अनुसार प्रदेश सभा सचिवालयमा पत्राचार पनि भएको थियो ।
त्यसकै आधारमा उनीहरु पदमुक्त भएको सूचना प्रकाशित भएको छ । तर, जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले भने उनीहरुलाई कारबाही नगरिएको स्पष्ट गरेका छन् । ठाकुरले आजमात्रै एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् । ठाकुरले केन्द्रीय स्तरबाट चार सांसदहरुलाई कुनै कारबाही नगरिएको जिकिर गरेका छन् ।