काठमाडौं, १७ वैशाख । जनता समाजवादी पार्टीले प्रदेश सभाका ४ सांसदले पार्टी नीति विपरित लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएपछि कारबाहीको पत्र प्रदेश सभाको कार्यालयमा पुग्यो । जसपाको आधिकारिक निर्णय भन्दै पुगेको पत्रका आधारमा मन्त्री बनेका ४ जना सांसद पदबाट मुक्त भए ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जसपाको निर्णयको पत्रका आधारमा १६ वैशाखमा सूचना जारी गरी रुपन्देही क्षेत्र नं ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, २ (१) बाट निर्वाचित विजयबहादुर यादव र समानुपातिक बन्दसूचीबाट निर्वाचित सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरेको सूचना जारी गरे । प्रदेश सभा बैठक नचलिरहेकोले सूचना टाँस गरिएको उल्लेख छ ।
सांसद पदबाट मुक्त भएका ४ जना नै आज अध्यक्ष महन्थ ठाकुरसँग बबरमहलमा छलफलका लागि आए । उनीहरुले छलफल गरेपछि ठाकुरले निर्वाचन आयोगलाई अर्को पत्र लेखेर आफै बुझाउन जमल पुगे । उनले पत्रको बोधार्थ प्रदेश निर्वाचन आयोग, लुम्बिनी प्रदेश, बुटवललाई गरेका छन् ।
प्त्रमा कार्यकारिणी समितिको बैठक ७ पौष २०७७ यता नबसेको दाबी गरेका छन् । बैठक बोलाउन समेत कुनै सूचना जारी नगरेको लेखी पठाएका छन् ।
बोधार्थ गरिएको पत्रमा ४ प्रदेश सभा सांसदलाई प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्काशन गरेको अबैध एवं गैरकानूनी रहेको जिकिर गर्दै निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध गरेका छन् ।