काठमाडौं, १९ बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि मात्रै छलफल भएको बेठकमा सहभागी नेता केशब बडालले जानकारी दिए ।
उनले भने,‘आजको बैठकमा मुख्य विषय, कोरोनाको बारेमा थियो, कोरोना महामारीले डरलाग्दो रुप लिएको छ । अन्तर्राष्ट्रिय जगतसँग खोप र अक्सिजनको लागि अनुरोध गर्ने, र नेपालमा ७५३ वटै सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि आफ्नो ध्यान केन्द्रित गरेर आवश्यक कदम चाल्न निर्देशन दिनेबारे छलफल भएको छ ।’
बाँकी राजनीतिक विषयमा छलफल नभएको उनले जनाए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उपत्पन्न परिस्थितिबारे भने कुनै छलफल नभएको बडालले स्पष्ट पारे । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी भ्याक्सिन ल्याउनको लागि पछिल्लो समय भैरहेको छलफलबारे ब्रिफिङ गरेका थिए । File Photo/ReportersNepal