यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार बिचल्लीमा परेका छन । आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा थपिएको छ ।
घरसँगै लत्ताकपडा, अन्नपात र नगद सबै जलेर नष्ट भएपछि सडकमा बस्न वाध्य उनीहरुलाई सामान्य राहत उपलब्ध भए पनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल बन्दै गएको छ ।नेपाल रेडक्रस सोेसाइटी रोल्पा, प्रतिनिधिसभा सदस्य वर्षमान पुन तथा प्रदेशसभा सदस्य दीपेन्द्र पुन र सम्बन्धित वडाका वडा कार्यालयले प्रतिपरिवार एकएक बोरा चामल उपलब्ध गराए पनि बास गुमाएका उनीहरुको दिनचर्या निकै कष्टकर देखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
नेकपा (एमाले)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल रोल्पाले आगलागी पीडित परिवारका १७० व्यक्तिका लागि रु दुई लाख बराबरको लत्ताकपडा वितरण गरेको छ । एमाले लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य ईश्वरी घर्तीका अनुसार आगलागी पीडितका मागका आधारमा युवा सङ्घले उक्त राहत हस्तान्तरण गरेको हो ।
विभिन्न व्यक्ति तथा संस्थाले दिएको राहतले बिहानसाँझको छाक टार्न सहज भए पनि ओत लाग्ने छानो नहुँदा उनीहरुको दैनिकी कष्टकर भएको नेतृ घर्तीले बताए । वर्षात्को समय नजिकिँदै गएकाले उनीहरुलाई सुरक्षित बासका लागि पहल भइरहेको उनको भनाइ छ ।
बस्ती नजीकैबाट सल्किएको आगलागीबाट त्रिवेणी २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, बुर्तिवाङ तथा रुन्टीगढी ९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट गोठमा बाँधिएका पशु समेत जलेर नष्ट भएका थिए । लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीले प्रयास गरेका थिए । चार दिनसम्म लागेको आगो वर्षात् शुरु भएपछि भने नियन्त्रणमा आएको थियो ।
आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुन्छ । भिरालो जमीन र सल्लाको वन भएका कारण जिल्लाका वन क्षेत्र आगलागीको उच्च जोखिममा छन् । रोल्पामा ४५ प्रतिशत सल्लाको र २२ प्रतिशत मिश्रित वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक र मानवीय कारणबाट आगलागी हुने गरे पनि यहाँ हुने शतप्रतिशत आगलागी मानवीय कारण हुने गरेको डिभिजन वन अधिकृत दधिलाल कँडेलले बताए ।-रासस/File photo