Logo

पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छः प्रम ओली



काठमाडौं, बैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताएका हुन् । कोभिड–१९ र समसामयिक विषयमा सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैm आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरू गरिसकेको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरे । गतवर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उनले अनुरोध गरे । साथै छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले गतवर्ष नै उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको दाबी गरे ।

सबैजसो अस्पताललाई पीसीआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको भन्दै उनले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताए । ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइनेछैन,’ उनले भने, ‘यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको प्रशंसा गर्दछु ।’ आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्