काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपनि फेरि प्रधानमन्त्री बन्न चालेको रणनीतिलाई असफल पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ अस्त्र तयार पारेका छन् । उनले आफू पक्षीय प्रत्यक्ष निर्वाचित सांसदहरुको सामूहिक राजीनामाबाट ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने अस्त्र तयार गरेका हुन् ।
माधव नेपाल समूहका नेता झपट रावलले सामूहिक राजीनामा विकल्पमा रहेको बताए । उनले अरु विकल्पहरुभन्दा सामूहिक राजीनामा उत्तम रहेको बताएका हुन् ।
नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म सामूहिक राजीनामाको तयारीसम्ममा आफूहरु पुगेको जानकारी गराउँदै सहमतिका लागि बटमलाइन अनुसार बढ्ने अवसर अझै बाँकी रहेको स्पष्ट पारिसकेका छन् । नेता रावलले पनि यसै पनि ओलीले विश्वासको मत लिन गएपछि कारबाही गर्ने भएकाले सामूहिक राजीनामामा जाने बताए । ओलीलाई कुनै हालतमा विश्वासको मत लिन नदिने र सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ नेपाल अगाडि बढ्न खोजेका छन् ।
नेकपा एमालेमा माधवकुमार नेपाल र झलनाथ खनालका प्रत्यक्षतर्फ निर्वाचित २३ सांसद छन् । जसमध्ये २१ जनाले सामूहिक राजीनामा दिनेगरी तयारी भएको छ ।