Logo

सामूहिक राजीनामाका लागि नेपाल-खनाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदको हस्ताक्षर तयार



काठमाडौं, २२ वैशाख । नेकपा एमालेका २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले सामूहिक राजीनामाका लागि हस्ताक्षरसहित पत्र तयार पारेका छन् । उनीहरुले आफू पक्षीय बैठक बसी राजीनामा तयार पारेका हुन् ।

२३ जना प्रत्यक्ष निर्वाचित सांसद नेपाल-खनाल समूहमा रहेकामा २ जनाले अझै केही समय कुरौं भनेको र बाँकी २१ जनाले हस्ताक्षर बुझाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बानेश्वरमा भेला भई उनीहरुले हस्ताक्षर बुझाएका थिए । उक्त हस्ताक्षर कुनैपनि बेला बुझाइने गरी ठिक्क पारिएको छ ।

हस्ताक्षर बुझाउनेहरुले यसै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्ने सम्भावना रहेकाले राजीनामा दिएरै बढ्नु उचित हुने राय राखेको बुझिएको छ । माधव कुमार नेपाल र झलनाथ खनाल निकट उनीहरुले अब नयाँ ढंगले बढ्नुपर्नेमा सुझाव समेत राखेका थिए ।

सांसद सदस्यबाट राजीनामा दिएर ओलीको विकल्पमा नयाँ प्रधानमन्त्री बन्न सक्ने सम्भावना बलियो बनाउने माधव नेपालको रणनीति अन्तर्गत हो । विश्वासको मत असफल पार्ने र सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री बन्नबाट समेत रोक्ने रणनीति नेपालले बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्