Logo

ओली-देउवा छलफलमा के के छ एजेन्डा



काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् । भेटमा दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई लिएर देउवा निवास पुगेका हुन् ।

भेटमा काँग्रेसका तर्फबाट सभापति देउवाका अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का र सहमहामन्त्री डा.प्रकाशशरण महतलाई सहभागी गराएका छन् ।

ओलीले २७ वैशाखमा विश्वासको मत लिन लागेका छन् । आजै माओवादी केन्द्रले सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । ओलीविरुद्ध काँग्रेससहितको गठबन्धन विकास भइरहँदा ओली देउवालाई भेट्न पुगेका हुन् ।

भेटमा ओलीले केही विकल्प प्रस्तुत गरेर सहमतिको प्रस्ताव राखेको बुझिएको छ । उनले कोरोना भाइरसको महामारी बढेको भन्दै सहमतिबाट अगाडि बढ्ने विषयमा जोड दिएको स्रोतले बताएको छ ।-तस्बिर स्रोतः सुर्य थापा



प्रतिक्रिया दिनुहोस्