काठमाडौं, वैशाख २५ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ ।
पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र मुल्यको अनियमिततालगायत विषयमा विभागमा आएका गुनासोका आधारमा विभागको नेतृत्वमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका ठूला अस्पतालको अनुगमन गर्दा यस्तो पाइएको हो ।
विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले सेवाग्राहीको गुनासोका आधारमा अस्पतालबाट पाइने उपलब्ध सेवा, लिने शुल्कलगायतमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार बिहीबार मिनभवनमा रहेको सिभिल अस्पताल, चाबहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।
यसअघिका दिनमा विभागले कोभिडमा केन्द्रित भएर उपचार गरिरहेका अस्पतालको अनुगमन गर्दै आएको छ । निर्देशक सेढाईंले अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पताललाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको बताए ।
उनले अनुगमनका क्रममा ती ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको रेम्डेसिभिर नामक औषधिको न्यून उपलब्धता, विवरण प्रद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव भएको देखिएको बताए । उक्त औषधिको अधिक मूल्य पाँच हजार एक रुपियाँ लिनुपर्नेमा अधिकांशमा तोकिएको मूल्यभन्दा अधिक लिएको अनुगमनका क्रममा पाइएको पनि उनले जनाए ।
यस्तै विभागका अनुसार अस्पतालमा बिरामीको अनुपातमा उपलब्ध शय्या सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेकोसमेत पाइयो ।
विभागका निर्देशक सेढाईंले अस्पतालबाट उपलब्ध हुने सेवा शुल्कमा देखिएको अनियमितताको विषयमा छानबिनका लागि उपत्यकामा सञ्चालित २३ वटा ठूला अस्पताललाई तीन दिनभित्र प्रमाण पेस गर्न निर्देशन दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।