काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एमाले) का नेता माधव नेपालसँगको पटक पटकको छलफलपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेका हुन् । यसअघि देउवाले प्रस्ताव पारित हुने आधार दाहाल, यादव र नेता नेपालसँग मागेका थिए ।
सभापति देउवाले अविश्वासको प्रस्ताव पारित हुनको लागि कम्तिमा पनि जसपाको सिँगो साथ पाउनुपर्ने वा माधव नेपाल पक्षधर सांसदहरुको राजीनामा आउनुपर्ने अडान राखेका थिए । विश्वस्त सूत्रका अनुसार नेता पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिनेगरि तयारी थालेपछि देउवा यो निर्णयमा पुगेका हुन् । यसको लागि कांग्रेसले आज दिउँसो २ बजे संसदीय दलको बैठकसमेत डाकेको छ । आजको बैठकबाट नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे निर्णय हुनसक्ने एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
पछिल्लो समय नेकपा (एमाले) भित्र सहमतिको प्रयास पनि भैरहेको छ । अध्यक्ष ओली र नेता नेपाल पक्ष दुवै तर्फका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । तर, सहमतिको खाका भने पहिल्याउन सकेका छैनन् । सहमतिको लागि नेपाल पक्षले २०७५ जेठ २ गते फर्किनुपर्ने अडान राखेको छ भने अध्यक्ष ओलीले अब पछि फर्किन नसकिने जवाफ दिईसकेका छन् ।
एमालेमा सहमति हुन नसक्ने सम्भावना बढेर गएको कतिपय नेताहरुको दाबी छ । यसको पुष्टि राष्ट्रियसभाको उपनिर्वाचनमा बाग्मती प्रदेशको लागि अध्यक्ष ओली पक्ष र नेपाल पक्षबीच नै प्रतिष्पर्धा भएको छ । कतिपयले यो निर्वाचनमा एमाले भर्सेस एमालेको लडाईँ पनि भनेका छन् । ओली पक्षबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल उठेका छन् भने नेपाल पक्षबाट डा. खिमलाल देवकोटा उठेका छन् । र, यसमा कांग्रेस, माओवादी केन्द्र र जसपाले उम्मेद्धवार दिएको छैन् । यसले पनि अब ओली र नेपालबीच अब सहकार्य हुने सम्भावना कम भएको देखिन्छ । File Photo/ReportersNepal