बुटवल, बैशाख २६ । गएको वर्ष यही समय छिमेकी दाइ बिरामी परे। दजर्नजति एम्बुलेन्सलाई फोन गरे। कसैले आउन मानेनन्। भैरहवा अञ्चलपुरका मंगल भण्डारीसँग गाडी थियो। छिमेकी चाहिने आपत्विपत्मा त हो भन्दै भण्डारीले घरभित्र राखेको गाडी निकाले। छिमेकीलाई बोकेर भैरहवाकै मेडिकल कलेज पुर्याए। बिरामीमा कोरोना देखियो। भण्डारीभन्दा पनि उनका परिवार आत्तिए।
‘मंगल यसरी नहिँड्, तँलाई कोरोना लाग्यो भने के हुन्छ ?’, बुवाले सम्झाए। ३८ वर्षीय भण्डारी पछि हटेनन्। बरु बुवाआमालाई सम्झाए। घरमा हजुरआमा, आमाबुवा, श्रीमती, दाजुभाइको संयुक्त परिवारमा रहेका उनी त्यसयता कैयौं बिरामीलाई बोकेर बुटवल–भैरहवाका सबै अस्पतालमा पुगे।
‘पोहोर २ सय जनालाई अस्पताल पुर्याएँ। अहिले ४५ जना भए होलान्’, शनिबार अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा उनले हिसाव लगाए। उनीसँग कुराकानी गरिरहँदा बेलहियाबाट बिरामीलाई अस्पताल लैजान सहयोग गर्नुपर्यो भन्ने फोन आइरहेको थियो।
‘बेलहियाबाट एक जना महिलाको फोन आयो। घरमा दुई महिला मात्रै छन् रे’, उनले भने, ‘अस्पतालमा बेड छैनभन्दा पनि पेटीमै लगेर भए पनि राखिदिनुस् भनेका छन्। अब उतै जान्छु।’
उनमा सहयोगको भावना एम्बुलेन्सको आनाकानीपछि आएको रहेछ। बिरामी बोक्नै बनेका एम्बुलेन्सले नबोकेपछि उनी गएको वर्षदेखि नै महामारीमा नामजस्तै मंगल काम गरेर हिँडिरहेका छन्। रुपन्देहीका जुनसुकै स्थानबाट फोन आए पनि उनी बिरामी लिन पुग्छन्।
ओमसतिया गाउँपालिका–२ अञ्चलपुर बस्ने उनलाई दिनमै कैयौं फोन आउँछ। जति भ्याउँछन् त्यति स्थानमा पुग्छन्। फेसबुकबाट उनको फोन नम्बर पाउनेहरू धेरै छन्। गाडीको पछिल्लो भागमा सिट छैनन्। त्यहाँ बिरामी सुताउँछन्। छेउमै अक्सिजन सिलिन्डर छ। अक्सिजन चाहिनेलाई सिलिन्डर लगाइदिन्छन्। कठिन अवस्थाका बिरामी बोक्न जाँदा स्वास्थ्यकर्मीको सहयोग पनि लिन्छन्।
आफैं ड्राइभरको सिटमा बस्छन्। मास्क लगाएका छन्। स्यानिटाइजरले हात सफा गरिरहन्छन्। मौका मिल्दा पञ्जा लगाउँछन्। उनलाई कुनै स्वार्थ छैन। सकेसम्म सेवा गर्छु भन्ने भावना उनमा रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।