Logo

अक्सिजन सिलिन्डर खोजी गरिँदै



भादगाउँ, २६ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक दुर्घटना, झैझगडा, चोरी डकैतीलगायत सार्वजनिक अपराधका घटनामा कमी आएको छ ।

सामाजिक अपराधका घटनामा कमी आएसँगै नेपाल प्रहरी अहिले फरक भूमिकामा सक्रिय भइरहेको छ । शान्तिसुरक्षामा अहोरात्र खटिनुपर्ने प्रहरी अहिले अस्पतालका लागि अक्सिजन ग्यास र सिलिन्डरको खोजी तथा व्यवस्थापनमा जुटेको छ ।

निषेधाज्ञासँगै सामाजिक अपराधका घटनामा कमी आए पनि प्रहरी अहिले निषेधाज्ञालाई कार्यान्वयन गराउन र पछिल्लो समय कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा देखिएको अक्सिजन र सिलिन्डरको अभावलाई ध्यान दिँदै त्यसको व्यवस्थापनमा जुटेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले बताए ।

“अहिलेको अवस्थामा नेपाल प्रहरीको पहिलो दायित्व निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउनु हो, त्यससँगै जिल्लामा अक्सिजनको अभाव हुन थालेको र अक्सिजनको अभावकै कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको खबरपछि प्रहरीले अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकताअनुसार अस्पतालमा पु¥याउने कार्य गर्दै आएको छ”, प्रहरी उपरीक्षक थापाले भने ।

भक्तपुर प्रहरीले हालसम्म २० अक्सिजनसहितका र ७५ खाली गरी ९५ वटा सिलिन्डर विभिन्न अस्पताललाई प्रदान गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

परिसरले मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर ईन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पताललाई पाँच र ललितपुरको अल्का अस्पताललाई पनि तीन वटा अक्सिजनसहितका सिलिण्डर उपलब्ध गराएको उनले बताए । त्यस्तै भक्तपुर अस्पताललाई ५० र मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ खाली सिलिण्डर प्रदान गरिएको छ ।

ती सिलिन्डर हाल सञ्चालन नभएका उद्योग कलकारखाना, वर्कशप, कवाडी सङ्कलन केन्द्र, जिमखानालगायत क्षेत्रबाट सङ्कलन गरिएको प्रहरी उपरीक्षक थापाले बताए । “ती सिलिन्डर हामीले अस्पतालहरुलाई पछि फिर्ता गर्नेगरी अस्पताललाई दिएका छौँ, त्यहाँबाट फिर्ता आएपछि जहाँबाट हामीले सङ्कलन गरेका हौँ त्यहाँ फिर्ता गर्छौं”, उनले भने ।

परिसरमा हाल ३७ खाली सिलिन्डर मौज्दात रहेको जानकारी दिँदै प्रहरी उपरीक्षक थापाले कुनै अस्पताललाई आवश्यक परे सम्पर्क गर्न आग्रह गरे । उनले आवश्यकताअनुसार सिलिन्डरको व्यवस्थापनको कार्यलाई निरन्तरता दिने बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्