काठमाडौं, २६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समय आएपछि प्रधानमन्त्रीका लागि अगाडि बढ्ने भनेको दुई महिना बितिसकेको छ । अब भने उनले समय आएको देखेका छन् । त्यसैले पार्टीको बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मत दिने निर्णय गराए । काँग्रेस नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय पनि भयो ।
देउवाले एकैपटक एक तीरबाट तीन शिकार गर्ने रणनीति बनाएका छन् । ओलीविरुद्ध मत दिने र तत्काल बहुमतको प्रधानमन्त्री बन्ने गरी देउवाले हानेको तीरले एकैपटक तीन शिकार गर्न सक्छ । तर, तीर चुकेमा आफ्नै लागि प्रत्युत्पादक हुनसक्छ ।
देउवाले पहिलो शिकार नेकपा एमालेलाई गर्ने रणनीति बनाएको देखिन्छ । माधवकुमार नेपाल पक्षीय सांसदले राजीनामा दिनेवित्तिकै एमाले फुट्छ । ओली प्रतिनिधि सभामा पहिलेभन्दा कमजोर हुन्छन् । त्यसपछि देउवालाई बहुमतको सरकारका लागि सहज वातावरण बन्छ ।
उनको दोस्रो शिकार जनता समाजवादी पार्टी हुन सक्छ । जसपा ओली सरकारलाई साथ दिने कि नदिने विषयले विभाजित छ । देउवाले हानेको तीरले उनलाई बहुमत पुर्याउनका लागि जसपा विभाजित हुनसक्छ । उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीविरुद्धको समिकरणको पक्षमा उभिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो समिकरणको विपक्षमा छन् । उनीहरु ओलीलाई समते साथ नदिएर तटस्थ बस्ने पक्षमा उभिएका छन् । यसले फाइदा ओलीलाई नै हुनसक्छ ।
तेस्रो एमाले र जसपाभित्रको विभाजनसँगै देउवा प्रधानमन्त्री बन्न सक्छ । एक वर्ष ढुक्कले सत्तामा रहेर चुनाव आफैले गर्न सक्ने अवस्था बन्नसक्छ । यसको फाइदा पनि लिन सक्ने देखेका छन् । प्रधानमन्त्री बनेर काँग्रेसको महाधिवेशन गरेर लाभ लिन सक्छन् ।
यसपटक देउवाले ढिलो गरी प्रधानमन्त्री बन्न देखाएको तत्परताले अन्य दलहरुलाई ठूलो धक्का दिन खोजेको छ । देउवा सफल भएमा काँग्रेस सबैभन्दा बलियो र अन्य दल विभाजित अवस्थामा हुनसक्छन् । यदि असफल भएमा उनकै लागि प्रत्युत्पादक बन्नसक्छ ।