काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको बैठक जारी छ । सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा सामूहिक राजीनामा दिनेबारे छलफल भैरहेको एक सांसदले जानकारी दिए ।
उनीहरुको छलफल सुरु हुनुअघि नेता नेपालसँग अध्यक्ष केपी शर्मा ओलीका विशेष दूतका रुपमा आएका नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेटवार्ता गरेका थिए । पौडेल र नेम्वाङसँगको भेटवार्तापछि नेता नेपालले आफू पक्षधर सांसदहरुलाई भेटवार्ताबारे ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरु राजीनामा दिने पक्षमा पुगेका छन् । त्यसको लागि उनीहरुले हस्ताक्षरसमेत संकलन गरेको बताईएको छ । तर, ओली पक्षधर नेता विष्णु पौडेलले भने राजीनामा दिनेबारे नेता नेपालले आफूहरुसँग कुरै नगरेको जिकिर गरे । File Photo/ReportersNepal