काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैछन् । अहिलेसम्मको स्थितिमा विश्वासको मतको पक्ष या विपक्ष दुवैमा बहुमत पुग्ने सम्भावना कम छ ।
नेकपा एमाले संसदीय दलका नेता ओलीले विश्वासको मत लिन नसक्ने देखेर संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको सरकारको प्रधानमन्त्री बन्ने मार्ग बनाइरहेका छन् । उनले विश्वासको मत लिने प्रयास पनि छाडेका छैनन् ।
प्रतिनिधि सभामा १२१ सदस्य रहेकोमा एमाले संसदीय दल नै विभाजित अवस्थामा छ । माधवकुमार नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचित र १० समानुपातिकतर्फका सांसद राजीनामाको तयारीमा छन् । उनीहरुले राजीनामा दिएमा विश्वासको मतको पक्षमा ९० मत मात्र एमालेबाट पर्ने देखिन्छ । एमालेमा सहमति भई एकढिक्का भएर गएमा विश्वासको मतको पक्षमा १२१ मत नै पर्छ । त्यो बहुमतका लागि पर्याप्त हुनेछैन ।
जनता समाजवादी पार्टीका ३२ सांसदहरु विश्वासको मतको पक्ष या विपक्षमा मत दिन छुट छन् । ओलीलाई उपेन्द्र यादव पक्षधर १५ देखि १८ सांसदले मत दिनेछैनन् । महन्थ ठाकुर र राजेन्द्र महतोले पनि तटस्थ बस्ने निर्णय लिएका छन् । जसपाबाट अधिकतम् ५ भन्दा बढी मत ओलीको पक्षमा नजाने निश्चितप्रायः छ ।
नेपाली काँग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसद विश्वासको मतको विपक्षमा मतदान गर्नेछन् । राष्ट्रिय जनमोर्चा पनि ओलीको विपक्षमा छ । नेमकिपा र राप्रपाका सांसद तटस्थ बस्ने सम्भावना रहन्छ ।
अहिलेको संसदको अंकगणित केलाउँदा ओलीले एमाले एक भएमा विश्वासको मतको पक्षमा अधिकतम् १२५ मत पाउँछन् । यो बहुमतका लागि पर्याप्त हुनेछैन । एमाले विभाजित भएर गएमा ओलीले अधिकतम् ९५ मत मात्र पाउँछन् ।
विश्वासको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी, जसपाका बहुसंख्यक सांसद देखि जनमोर्चासम्मको गरी १३० मतसम्म पर्न सक्छ ।-फाइल तस्बिर