काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु जारी संसद् बैठकमा सहभागी भएका छैनन् । आज विहान बसेको बैठकअनुसार नै नेपाल पक्षधर सांसदहरु संसद् बैठकमा नगएका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको पक्षमा मत नदिने निर्णय गरेका छन् । तर, यो बीचमा नेपाल पक्षधर नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे एमाले एकता जोगाउनेगरि ओली पक्षधर नेताहरुसँग छलफलमा छन् ।
संसद् बैठक सुरु हुनुअघिमात्रै माधव नेपाल पक्षधर नेताहरु योगेश, घनश्याम र गोकर्णसँग ओलीनिकट नेता विष्णु पौडेलले सम्वाद गरेका थिए । नेपाल पक्षधर अधिकांश सांसदहरु अहिलेपनि सिंहदरबारमा रहेको बुझिएको छ । वरिष्ठ नेता माधव नेपाल र अर्का नेता भीम रावलबाहेक प्रायः सबै सांसद सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा भेला भएर बसेका छन् । उनीहरु त्यहीँ बसेर संसद बैठकको लाईभ हेरिरहेको बुझिएको छ । File Photo/ReportersNepal