दाङ, २८ वैशाख: तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका–८ को अश्वारा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको हो ।
तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा आइसोलेशन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । “केही निर्माणको काम बाँकी थियो त्यसलाई चौबिसै घण्टा काम गरेर सम्पन्न गरेपछि अस्पताल सञ्चालनमा आएको हो”, नगरप्रमुख पाण्डेले भने ।
“बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि गम्भीर प्रकृतिका सङ्क्रमित पनि घरमै उपचार गर्न बाध्य थिए । अब सहज हुनेछ”, नगरप्रमुख पाण्डेले भने । नगरप्रमुख पाण्डेले अस्पताल सञ्चालनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्माणमा खट्ने निर्माण व्यवसायी तथा मजदूर, सहयोगी महानुभाव, कर्मचारी तथा स्थानीयवासीलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् । अस्पतालमा चिकित्सकहरु डा. महेशकुमार खनाल, डा. देवराज केशी, डा. शिव सुवेदी, डा. मदन विसी, डा गोकर्ण दाहाललगायतको टोली रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा फोकल पर्सन बिमल केसीले जानकारी दिए । हाललाई २५ श्यया रहे पनि केही दिनमा ५० श्यया विस्तार गरिने नगरपालिकाले जनाएको छ ।
आइसोलेशन अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताले निकै खुशी व्यक्त गरेका छन् । सामाजिक अभियन्ता एवम् तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विमल रिजालले जनताप्रति उत्तरदायी काम गरेकामा खुशी व्यक्त गरे । “अब श्ययाको अभावमा जनताले घरमै ज्यान गुमाउनुपर्ने अवस्था रहेन”, रिजालले भने । सो अस्पतालमा पहिलो दिन गएराति तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका–६ निवासी दुईजना कोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् ।-रासस/File Photo