Logo

माधव नेपाल पक्षधर सांसद र स्थायी कमिटी सदस्यहरु जुम–मिटिङमा, राजीनामा दिनेबारे छलफल



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु र स्थायी कमिटी सदस्यहरुको संयुक्त बैठक जारी छ । नेपाल पक्षका २८ जना सांसदहरुले हिजो संसद बैठकमा भाग नलिएर पार्टीको ह्विप उल्लंघन गरेका थिए । त्यसपछि उत्पन्न परिस्थिति र अब कसरी अघि बढ्ने ? भन्नेबारे नेपाल पक्ष छलफलमा जुटेको हो । माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेले आफूहरु जुम मिटिङमा रहेको जानकारी दिए । उनकाअनुसार आजको छलफलमा नेपाल पक्षका २८ जना सांसद र स्थायी कमिटीका सबै सदस्यहरु जोडिएका छन् ।

आजको छलफलमा नेता नेपालले अब कसरी अघि बढ्ने ? भन्नेबारे आफ्नो रोडम्याप सुनाउने बुझिएको छ । एक सांसदले दिएको जानकारीअनुसार कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको गठबन्धनलाई सरकार बनाउन सजिलो हुनेगरि २० जना सांसदले आजै राजीनामा दिने कि भन्ने विकल्पबारे पनि छलफल चलिरहेको छ । तर, योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टले यस्तो कदम चाल्न नहुने अडान लिएका छन् ।

हिजोपनि राजीनामा दिने अन्तिम तयारीमा पुगेको बेला युवा नेताहरुले तत्काल राजीनामा दिन नहुने बरु एकताको लागि अझै पहल गरौं भन्ने प्रस्ताव राखेपछि राजीनामा रोकिएको थियो । नेपाल पक्षका सांसदहरुको बैठकलगत्तै योगेश, घनश्याम र गोकर्णले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता विष्णु पौडेलसँग करिब एक घण्टा छलफल गरेका थिए ।

उनीहरु हिजोको संसद बैठकमा अनुपस्थित् भए । प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएका छन् । अब संविधानको धारा ७६ को २ बमोजिम बहुमतको सरकार बनाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरिसकेकी छिन् । नयाँ सरकार गठबनको लागि जसपा र माधव नेपाल पक्षले चाल्ने अबको कदम निर्णायक हुने बुझिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्